अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाइएको छ । अमेरिकी संसदको तल्लो सदनले ट्रम्पविरुद्धको महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।
योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बन्नु भएको छ ।
गत बुधबार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा राष्ट्रपति ट्रम्पविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।
सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक पर्ने कानुनी व्यवस्था छ । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् ।
तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले दावी गर्नुभएको छ ।
महाअभियोग प्रस्तावको विपक्षमा १९७ जना रिपब्लिकन सांसद रहेको बीबीसीले जनाएको छ ।
तल्लो सदनले सन् २०२० मा पनि उहाँ विरुद्ध महाभियोग पारित गरेको थियो । तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन् ।
अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
संसदको माथिल्लो सदनमा त्यो संख्या पुर्याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक पर्ने छ ।
कम्तीमा १७ रिपब्लिकन सिनेटरहरूले ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा मतदान गरेमात्र उहाँ पदमुक्त हुने बताइएको छ ।
दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले डेमोक्र्याटहरूकै बलमा मात्र सिनेटमा आरोप पुष्टि हुन सम्भव हुनेछैन । तर रिपब्लिकनहरूको साथ पाएर त्यो पारित भयो भने पनि उम्मेद्वार बन्न नदिन अर्को मतदान गराउनु पर्ने हुन्छ ।
यसअघि तल्लो सदनले संविधानको एउटा प्रावधानअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो ।
पेन्सले त्यो प्रस्ताव अस्वीकार गरेलगत्तै डेमाक्र्याटहरू महाभियोगको प्रक्रियामा अघि बढेका हुन् । एजेन्सी