माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले दुईसाताभित्रै मुलुकमा ठूलो उथलपुथल हुने बताएका छन । राजनैतिक रुपमा हुने उथलपुथलको जसले नेतृत्व लिन सक्छ उसैको जीत हुने उनको भनाई थियो ।
राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रको पश्चिमाञ्चल भेलामा शनिवार बोल्दै रायमाझीले सहमति र सहकार्यबाट जनताको भावना समेटिएको संविधान बनाउनुको विकल्प नभएको बताए । शान्ति र संविधान निर्माणमा सहमति आवश्यक हुने भएकाले नै आफुहरु बहुमतको खेलमा नलागेको भन्दै रायमाझीले दक्षिणपन्थी राष्ट्र र जनतालाई माया नगर्नेहरुलाई परास्त गर्नुपर्ने बताए । उनले राज्य पुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबाहेक अन्य विषयमा सहमति भैसकेको उनले दावी गरे ।
रायमाझीले एकले अर्कोलाई हिलो नछ्यापी जनताको म्याण्डेट अनुसार सहमति निर्माण गरी संविधान जारी गर्नुपर्नेमा जोड दिए । रायमाझीले सरकारको निर्लज्जताले एमालेका कार्यकर्ताहरु नै निराश भएर पार्टी कार्यालयमै आत्महत्या गर्न थालेको बताए ।