अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो समूहका अर्घाखाँची जिल्लाबाट मनोनयन गरेका केन्द्रीय सदस्य मध्ये प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे लगायत ३ जनाको नाम हटाइएको छ ।
ओली पक्षको नेकपाले अर्घाखाँची जिल्लाबाट मनोनयन गरेका मध्ये निर्वाचन आयोगमा पठाएको केन्द्रीय सदस्यहरुको लिष्टमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, भोजबहादुर शाह र डिल्लीराज घिमिरेको नाम हटाइएको हो ।
गत पौष ७ गते मंगलवार ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा अर्घाखाँचीबाट ८ जना केन्द्रीय सदस्य थपिएका थपिएका थिए । जसमा थपिएका केन्द्रीय सदस्यमा चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका थिए ।
ओलीले पौष ७ गते मंगलबार बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका थिए। यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।
निर्वाचन आयोगमा पठाएको केन्द्रीय सदस्यहरुको लिष्ट सार्वजनिक भएका मध्ये रामजी घिमिरे, भोजबहादुर शाह र डिल्लीराज घिमिरेको नाम नभएपछि पुन: पठाउने, सच्चाउने, थप्ने बारेमा उर्जा मन्त्री टोप बहादुर रायमाझीसँग छलफल चलिरहेको स्रोतले अर्घाखाँचीडट्कमलाई बतायो ।
प्रदेश सभा सदस्य रामजी घिमिरेको नाम निर्वाचन आयोगमा पठाएको केन्द्रीय सदस्यहरुको लिष्टमा नभएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि गराइएको छ । साथै रामजी घिमिरेको मात्र नभएर अन्य जिल्लाबाट केन्द्रीय सदस्यमा मनोनयन गरेका कयौको नाम छुटेको बताइएको छ ।
यसको बारेमा जानकारी लिन खोज्दा रामजी घिमिरेसँग संपर्क हुन सकेन् । तर स्रोतका अनुसार घिमिरेले आफ्नो नाम निर्वाचन आयोगमा पठाएको केन्द्रीय सदस्यहरुको लिष्टमा नभएको थाहा पाएपछि असुन्तष्ट देखिएका छन् ।
उता पुर्ब एमाले जिल्ला सचिब चौहान दाहाल नेपाल समुहमा लागेका छन् । उनलाई ओली पक्षका भनी दावी गरेता पनि सन्धिखर्कको एक होटलमा पत्रकार सम्मेलन गरेर दाहाल नेपाल समुहमा लागेको बताएका छन् ।
यस्तै अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा विघटनदेखि विभाजित नेकपाका दुई समूहबीच कार्यक्रम र कार्यकर्ता आफ्नो पक्षमा तान्न प्रतिस्पर्धा चलेको छ । दुवै समूह समानान्तर बैठक र कार्यक्रम राखेर कार्यकर्ता आफ्नो पक्षमा पार्ने होडमा छन् । गत शनिबार सदरमुकाम सन्धिखर्कमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९ हजार कार्यकर्ता तैनाथ गरी बृहत् कार्यकर्ता भेला सम्पन्न गरेको थियो ।
बृहत् कार्यकर्ता भेलामा ओली पक्षका पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्राेत तथा सिंचाई टाेप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकार शंकर पाेख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगायतले सम्बोधन गरेका थिए ।
उक्त सभालाई सम्बोधन गर्न मन्त्रीहरु जिल्ला आउँदा जिल्ला सदरमुकाम आसपासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समुहका कार्यकताहरुले विभिन्न चोकमा काला ब्यानरहरु सहित प्रर्दशन गरेका थिए ।