अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिए लगतै जो बाइडनद्धारा ट्रम्पका कतिपय नीति खारेजको आदेश

Jo biden take us president oth

एजेन्सी, माघ ८ । डेमोक्रेट नेता जो बाइडनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिनुभएको छ । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडनले राष्ट्रपतिको शपथ लिनुभएको हो ।

१२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिनुभएका ७८ वर्षीय बाइडन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बन्नुभएको छ ।

कडा सुरक्षाबीच सम्पन्न शपथ समारोह, बाइडनसँग पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बहिष्कार गर्नुभयो ।

ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी हुनुभयो । ट्रम्पलाई भने शपथ समारोह हुनु केही घण्टा पहिले बिदाई गरिएको थियो ।

यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिनुभयो । ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला बनेर इतिहास रच्नुभएको छ ।

गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गर्नुभएको हो ।

इलेक्टोरल र लोकप्रिय दुबै मतबाट पराजीत ट्रम्पले भने हार अस्वीकार गर्दै आफ्ना अन्ध समर्थकहरुलाई संसद भवनमा हिंसात्मक आक्रमण गर्न उक्साएपछि ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा निकै आलोचित बन्नुभएको छ ।

दुई हप्ताअघिको उक्त घटनामा ट्रम्पका उत्तेजित भीडले गरेको आक्रमणमा परी एक प्रहरी अधिकारीसहित पाँच जना मारिएका थिए । संसद भवनमा आक्रमण गराएपछि ट्रम्पमाथि अमेरिकी इतिहासमै दोस्रोपटक महाअभियोग लागेको छ ।

३६ वर्षसम्म डेलावरबाट सिनेटर रहनुभएका बाइडनले बाराक ओबामा प्रशासनमा ८ वर्ष उपराष्ट्रपति बन्नुभएको थियो ।

सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने बताउँदै आउनु भएका बाइडन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल हुनुभएको हो ।

बाइडन सामु कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने, शिथिल बनेको अर्थतन्त्र उकास्ने, विश्वबाट अलग थलग भएको अमेरिकालाई फेरि विश्वको नेतृत्वमा स्थापित गर्ने जस्ता चुनौती रहेका छन् ।

ह्वाइट हाउसमा बहाली लगत्तै उहाँले ट्रम्पका कतिपय नीति खारेज गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा मेक्सिकोको सीमामा पर्खाल लगाउन रोक्ने लगायतका १५ विभिन्न आदेश छन् ।