अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा आगामी आईतबारसम्म कोरोना खोप आइपुग्ने भएको छ ।
लुम्बिनी प्रदेशका अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा आजको ५ दिन अर्थात आगामी आईतबार वा बढीमा सोमबारसम्म कोरोना खोप आइपुग्ने भएको हो ।
सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा पनि कोरोना खोप आईतबारसम्म आइपुग्ने छ ।
साथै खोप लगाउने दिन भने अझै तय नभएपनि जिल्ला अस्पताल अर्घाखाँचीमा यसको तयारी पुरा भएको बताइएको छ । स्रोतले अर्घाखाँचीडट्कमलाई बताए अनुसार अर्घाखाँचीमा लुम्बिनी प्रदेशको बुटवलको खोप भण्डारणबाट आउने छ । तर अर्घाखाँचीमा के कती डोज कोरोना खोप आउने भन्ने अझै थाहा हुन सकेको छैन् । भोलीसम्म विवरण आउनेछ ।
लुम्बिनी प्रदेशको बुटवलमा ११ हजार २ सय लिटर खोप भण्डारण क्षमता छ । त्यहींबाट जिल्ला अस्पतालमा खोप पठाइनेछ । कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको लुम्बिनी प्रदेशले जनाएको छ ।
अर्घाखाँचीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई पहिलो चरणमै खोप जिल्ला अस्पतालबाट लगाइने छ । साथै खोप कोरोनाले यसअघि संक्रमित भए नभएका सबैलाई दिइन्छ । खोप लगाइसकेपछि कार्ड दिइने छ ।
साथै जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गरिने छ । उता अर्घाखाँचीमा खोप लगाउन खटिने व्यक्तिलाई तालिम दिन भने अझै बाँकी छ । खोप लगाउने स्थानमा पुर्याउनुपर्ने आवश्यक सामान पनि पठाइएको छैन । तर खोप वितरण, ढुवानी, भण्डारण, स्वास्थ्यकर्मीको तालिम र सामग्रीहरू वितरण एकसाथ दिने तयारी लुम्बिनी प्रदेशले गरेको बताइएको छ ।
यस्तै अर्घाखाँचीमा खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन भइसकेको र सफाइमा खटिने गाउँपालिका र नगरपालिकाका कर्मचारीको तथ्यांक संकलन भइरहेको स्रोतले अर्घाखाँचीडट्कमलाई बतायो ।
अर्घाखाँची जिल्लामा आजसम्म संक्रमितको संख्या ७८२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३७१ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३४, मालारानीमा ८५, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५३ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७४४ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३५८ जना, शितगंगा नगरपालिकामा १०४, भूमिकास्थान नगरपालिकामा १२८, मालारानीमा ८२, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ४१ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा कोरोनाका कारण १३ जनाको निधन भएको छ ।
उता भारतले उपलब्ध गराएको खोप बिहीवार काठमाडौं आईपुगेको छ ।
देब्रे पाखुराको माथिल्लो भाग खोप
अक्सफोर्ड–एस्ट्राजेनेकाले निर्माण गरेको कोभिसिल्ड खोप १८ वर्ष पुगिसकेका व्यक्तिको देब्रे पाखुराको माथिल्लो भाग (इन्ट्रामस्कुलर) मा लगाइन्छ । ‘धेरै जनाको दाहिने हात चल्छ । त्यसैले दुखाइ नहोस् भनेर सामान्य रूपमा देब्रे हातमा नै लगाउने कम्पनीले प्रस्ताव गरेको छ ।