अर्घाखाँचीमा आजदेखि कोरोना खोप अभियान शुरु हुँदै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना रोगविरुद्धको खोप अभियान आजदेखि शुरु गरिने भएको छ । 
देशभर हिजो बुधवार लगाएपनि अर्घाखाँचीमा १ दिनपछि आज माघ १५ गते बिहीवार १० बजेपछि कोरोनाविरुद्ध खोप लगाउन शुरु गरिने भएको हो ।
आज बिहान १० बजेपछि सुरु गरिने खोपको लागि तयारी पुरा भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले जानकारी अर्घाखाँचीडट्कमलाई जानकारी दिनुभयो । प्रदेश सरकार र केन्द्रको पहिलो आदेस बाझिएता पनि केन्द्र सरकारको तत्काल सुरु गर्नु भन्ने आदेश अनुसार आज देखि नै जिल्ला अस्पताल अर्घाखाँचीको खोप केन्द्रमा पहिलो चरणको खोप अभियान सुरु गरिने भएको हो ।  
जिल्ला अस्पताल अर्घाखाँचीमा अस्ती मंगलवार पहिलो चरणका लागि ४०० भाइल (३ हजार ८ सय ५०  डोज) कोरोना खोप आइपुगेको थियो ।
अर्घाखाँचीमा पहिलो चरणका लागि ४०० भाइल खोप आएको र खोप लगाउनको लागि जिल्ला स्तरमा खोप प्राविधिकहरुलाई भर्चुअल तालिम दिइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर कपिल गौतमले अर्घाखाँचीडट्कमलाई बताउनुभएको थियो । 
अस्पतालका तथा पालिकाहरुका नियमित खोप क्लिनिकहरुमा नै यो खोप लागाउने भएको हुनाले अतिरिक्त बुथ तथा क्याबिनको आबस्यकता नहुने पनि बताइएको छ । 
अर्घाखाँचीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,  सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई पहिलो चरणमै खोप जिल्ला अस्पतालबाट लगाइने छ ।  साथै खोप कोरोनाले यसअघि संक्रमित भए नभएका सबैलाई दिइन्छ । खोप लगाइसकेपछि कार्ड दिइने छ ।