ओलीको कार्यक्रम भरतपुर महानगरपालिकाले बहिष्कार गर्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भरतपुरमा गर्न लागेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक निर्माणको शिलान्यास कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।
महानगरले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गरी आफूहरूको पहलमा निर्माण सुरु भइसकेको आयोजना प्रधानमन्त्रीले पुनः शिलान्यास गर्न खोजेको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो । महानगर प्रमुख रेणु दाहालले प्रधानमन्त्रीको शिलान्यास मोह स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप र संघीयतामा केन्द्रीकृत शासनको झल्को दिएको टिप्पणी गर्नुभयो ।
महानगरले गौरवको रूपमा लिएको सिटी हल निर्माण र पुल्चोक–गोन्द्राङ सडकलाई ६ लेनको बनाउने आयोजनाको शिलान्यासका लागि प्रधानमन्त्री शनिबार चितवन जाने कार्यक्रम छ । चितवनको पुल्चोक–गोन्द्राङ ६ लेनको सडक १ अर्ब १२ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । इमेजच्यानलमा समाचार छ ।