अर्घाखाँचीमा भूकम्पले घर भत्किएको विवरण बुझाएर सम्झौता नगर्ने घरलाई सुचीबाट हटाईने


सुर्य भुसाल / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ‘निजी आवास सहित पुननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । 
कार्यक्रममा  राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सुरेश आचार्यले भूकम्पले घर भत्किएको विवरण बुझाएर हाल सम्म सम्झौता नगर्ने घरलाई सुचीबाट हटाउन थालिएको बताएका छन् । धेरै समय भईसकेकोले सम्झौता नगर्ने घरलाई सुचीबाट हटाउन सुरु गरिएको उनले बताए ।
 सन्धिखर्कमा ‘निजी आवास सहित पुननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम’ मा प्राधिकरणका सचिव आचार्यले अनुदान सम्झौता गरेका तर घर निर्माण नगरेका लाभग्राहीको पनी सम्झौता रद्द गरिने बताए । पटक पटक ताकेता गर्दापनी सम्झौता नगर्ने र सम्झौता गरेर घर निर्माण नगरेकाहरुलाई सुचिबाट हटाईने उनको भनाई छ । धेरै समय बाँकी नरहेकाले सञ्चालित योजनाहरु छिटो छरितो सम्पन्न गर्न उनले निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव गोपाल अर्यालले कोरोना महामारी बिच पनी प्राधिकरणले काम नरोकेको बताए । अन्य जिल्लामा भएको प्रगती अनुसार अर्घाखाँचीमा अली कम प्रगती देखीएकाले छिटोटरितो काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, शितगंगा नगरपालिकाका मेयर सुर्यप्रसाद अधिकारी, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेब गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, योजनाका ईन्जिनियर लगायत पत्रकारहरुले आआफ्नो धारणा राखेका थिए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) का जिल्ला आयोजना प्रमुख सोहिन्दर यादवले निजि आवास पुनर्निर्माण तर्फ ६९.६८ प्रतिशत प्रगति भएको बताएका छन् । उनले हालसम्मको प्रगति विवरण, बाँकी कार्य सम्पन्न गर्न कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै नीजि आवास प्रबलिकरण सहित जिल्लाको प्रगती ६३.८ प्रतिशत भएको उनले बताए । १ हजार ३ सय ३६ घर लाभग्राही सुचीमा रहेकामा १ हजार १ सय ९२ जनाले मात्र सम्झौता गरेका छन् । त्यो मध्ये १ हजार १ सय ९२ जनाले नै पहिलो किस्ताको रकम प्राप्त गरेका छन् । दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ७ सय ६१ रहेको छ भने तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राही ६ सय ४४ जना रहेका छन् ।
यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का जिल्ला आयोजना प्रमुख बलराम मिश्रले ८० प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तिय प्रगती भएको विवरण पेश गरेका छन् । उनले चार कोठे, तिन कोठे र दुई कोठे गरी ५० वटा विद्यालयको काम सम्पन्न भईसकेको ६२ वटा विद्यालयको काम चलिरहेको बताए । कोरोना महामारीका बेला विद्यालयहरुलाई क्वारेन्टाईन र आईसोलेशन बनाईएकाले निर्माणकार्य निर्धारित समय भन्दा ढिला हुने उनको भनाई छ । कार्यक्रम जिल्ला समन्वय समिती सभापती पिताम्बर शर्मा भुसालको अध्यक्षता र ठाकुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।