इजरालयमा जनसंख्याको ३२ प्रतिशतले कोरोना खोप लगाए

 
एजेन्सी 
जेरुसेलम, माघ १८ गते। इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । 
गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख छ ।
मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन् । इजरायलमा कोभिड–१९ बाट संक्रमितको कुल संख्या ६ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ । 
इजरायलमा कोभिड–१९ संक्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ । कोभिड–१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन् ।