कञ्चनपुरको गड्डाचौकी नाका खोल्ने सरकारको निर्णय कार्यान्वयन भएन, दुवै देशका नागरिकले सास्ती खेप्न बाध्य

दुर्गा उपाध्याय (ईमेज च्यानल
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीसँगै भारतसँग सीमा जोडिएका ३० वटा नाका खोल्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन् । जसले गर्दा गड्डाचौकीसँगै अधिकांश नाकाहरुमा दुवै देशका नागरिकले सास्ती खेप्न बाध्य छन् ।

कोरोना भाइरसका कारण दुई महिना ठप्प रहेको कञ्चनपुरको गड्डाचौकी नाका स्थानीय प्रशासनको पहलमा गत जेठ १२ गतेबाट खोलिएको हो । भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन अनौपचारिक रुपमा खोलिएका नाका बिहान दैनिक चार घण्टा संचालनमा थियो ।
सुरुवाती अवस्थामा नेपालीलाई भित्र्याउन खोलिएको यो नाका हुँदै लकडाउनकै अवधीमा हजारौ नेपालीहरु रोजगारीका लागि पुनः भारत गए र अझै जाने क्रम रोकिएको छैन । तर नेपाल आउन चाहने भारतीय नागरिकलाई भने अहिलेसम्म प्रवेश दिइएको छैन् ।
छिमेकी राष्ट्रबाहेकका नागरिकलाई स्थलमार्गको प्रयोगमा रोक लगाउँदै नेपाली नागरिक र नेपालसँग सीमा जोडिएका छिमेकी राष्ट्रका नागरिकले मात्र स्थलगत मार्गबाट प्रवेश पाउँदै आएका छन् ।
सरकारले केही शर्तहरु पुरा गरेपछि मात्रै छिमेकी देशका नागरिकलाई नेपाल प्रवेश दिने निर्णय गरेपनि औपचारिक रुपमा नाका खुलेको जानकारी नआउँदा नेपाल–भारत दुबै देशका नागरिकले नाकामा दुःख पाइरहेका छन् ।
हुनत नेपाल सरकारले नाका बन्द गरेकै अवस्थामा पनि भारतीय पक्षले अन्तरराष्ट्रिय नियम अनुरुप भारतीय नागरिकलाई समेत नेपाल प्रवेश गर्न अनुमति दिन पत्राचार गरिसकेको छ ।
तर पूर्ववतः नाका खोल्दा त्यसले ल्याउने जोखिमलाई मध्यनजर गर्दै सरकारले स्थलमार्गको प्रयोग गर्दै नेपाल प्रवेश गर्ने नागरिकका लागि एउटा छुट्टै मापदण्ड बनाएको छ ।
नेपाल आउन चाहने छिमेकी राष्ट्रका नागरिकले स्वाब संकलन गरेको ७२ घण्टाभित्रको कोरोना परीक्षण गरेको रिपोर्ट र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेवसाइटमा रहेको अब्रोड रिटर्नी मेनेजमेन्ट सिस्टमको अनलाइनमा अनिवार्य रुपमा फारम भरेको र त्यसको बार कोड प्रिन्ट गरी साथमा ल्याएको हुनै पर्ने व्यवस्था छ ।
सरकारले देशभरका नाका खोलेको प्रचार गरे पनि त्यसै अनुसार निर्वाध रुपमा आवतजावत गर्ने गरि भने नाका खुला नरहेको कञ्चपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो बताउनु हुन्छ ।
कोरोना महामारी सुरु भएको एक वर्ष पुरा भइसक्दा यसका नयाँ स्वरुपका धेरै भाइरस देखिइ सकेका छन् । त्यसैले सरकारले औपचारिक रुपमै नाका खोलेपनि यसमा गरेको कडाइले महामारी भित्रिन नदिन केही हदसम्म सहयोग गर्ने देखिन्छ ।