अर्घाखाँचीमा सन्त बहादुर नेपाली नेतृत्वको राष्ट्रिय जागरण अभियानको जिल्ला शाखा गठन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्त बहादुर नेपालीको नेतृत्व रहेको राष्ट्रिय जागरण अभियानको जिल्ला शाखा गठन भएको छ । 
केन्द्रिय संयोजक सन्त बहादुर नेपालीको विशेष उपस्थितिमा शनिबार सन्धिखर्कमा सम्पन्न भेलाले जिल्ला शाखा गठन गरेको हो । गठित ६ सदस्यीय  जिल्ला शाखाको संयोजकमा बुद्धिराम गैरे चयन भएका छन् । 
साथै गठन पश्चात् राष्ट्रिय जागरण अभियान जिल्ला शाखा अर्घाखाँचीको प्रथम बैठकले यहि माघ २७ गते सदरमुकाम सन्धिखर्कमा ” प्रतिनिधिसभा विघटन र राष्ट्रिय स्वाधिनताको प्रश्न ” बिषयक छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठक पश्चात् संयोजक बुद्धिराम गैरेले एक प्रेस बक्तब्य जारी गर्दै सो कुराको जानकारी गराए । संयोजक गैरे द्वारा जारी उक्त बक्तब्यमा अगाडि भनिएको छ – ” राष्ट्रिय जागरण अभियान जिल्ला शाखा समिति अर्घाखाँचीको भेला आज मिति २०७७ माघ २४ गतेका दिन सन्धिखर्कमा सम्पन्न भएको छ । राष्ट्रिय जागरण अभियानका केन्द्रीय संयोजक सन्तबहादुर नेपालीको उपस्थितिमा सम्पन्न उक्त भेलाले बुद्धिराम गैरेको संयोजकत्वमा ६ सदस्यीय जिल्ला शाखा समितिको गठन गरेको छ । जसमा सदस्यहरु रामबहादुर स्वर्णकार, शिव प्रसाद खनाल, बन्धु नेपाली, शिवबहादुर नेपाली र सृजना भूसाल रहेका छन् । 
नवगठित शाखा समितिको बैठकले जिल्ला सदरमुकाम सन्धिखर्कमा यही माघ २७ गते “प्रतिनिधिसभा विघटन र राष्ट्रिय स्वाधिनताको प्रश्न” विषयक छलफल कार्यक्रम राख्ने निर्णय गरेको छ । सो कार्यक्रममा संयोजक सन्तबहादुर नेपालीले आधारपत्र प्रस्तुत गर्नुहुने छ । 
साथै सोही कार्यक्रमको अवसरमा हालै प्रकाशित “एमसीसी विमर्श” पुस्तक सार्वजनिकीकरण गरिने कार्यक्रम रहेको छ । “