आज सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाको शक्ति प्रदर्शन| चित्र बहादुर केसीले बिशेष सम्बोधन गर्ने
माघ ३० गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आज शुक्रबार शक्ति प्रदर्शन सहित हुने विशाल बिरोधसभालाई बिशेष सम्बोधनका गर्न पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के. सी. हिजो बिहीवार साँझ सदरमुकाम सन्धिखर्कमा आईपुगेका छन् ।
उता राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संसद पूर्नस्थापनाको पक्ष र संघियताको खारेज तथा प्रतिगमनका बिरुद्ध शक्ति प्रदर्शन सहित हुने कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।
राष्ट्रियता एवम् मुलुकको परिवर्तनका उपलब्धिको रक्षार्थ आम जनतालाई सचेत पार्न र सरकारलाई खबरदारी गर्न आयोजना गरिने उक्त कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर के.सी.को बिशेष सम्बोधन गर्ने तयारी भएको राजमो अर्घाखाँचीले जनाएको छ । कार्यक्रममा सहभागी हुन राजमो केन्द्रीय सदस्य मनोज भट्ट पनि सन्धिखर्क आईपुगेका छन् ।
उता बिहीवार साँझसन्धिखर्कमा आईपुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के. सी. ले देशमा जतिसुकै ब्यबस्था परिबर्तन भए पनि अगुवा गर्ने नेतृत्वको प्रवृत्ति नफेरिएको बताए । उनले नेताहरुमा संबैधानिक नियम पालना नगरेर मनपरी गर्ने बानी बिकास भएर नेतृत्वले बारम्बार जनतालाइ धोका दिएको बताए ।
सन्धिखर्कमा के सीले अर्घाखाँचीडट्कमसँगको बिशेष संबादमा कुरा गर्दै नेतृत्वले संविधान भित्र टेकेर काम गर्नुपर्ने तर त्यसो हुन नसकेकोले देशमा समस्या पैदा भएको बताए ।संबैधानिक निकाय स्वतन्त्र छैनन भन्दै उनले अख्तियार , न्यायपालिका , निर्बाचन आयोग लगायतकामा भाग बण्डामा पदपुर्ती भएको हुनाले निर्णयहरु पनि निष्पक्ष नहुने संकेत गरे ।
के सीले संसद पुनर्स्थापना हुनै पर्छ भन्दै नभएको खण्डमा स्थिती जटिल हुने र जनताले नछोड्ने चेतावनी दिए । उनले जनतामा रहेको अज्येय शक्तिको अगाडि संसारका कुनै शक्तिको केही नलाग्ने भन्दै केही समय विभिन्न हथकण्डा लगाएर दबाउने प्रयास गरेतापनी जनताकै जित हुने जनताले घुंडा टेकाएरै छोड्ने दावी गरे ।
प्रधानमन्त्री ओलीले पार्टी भित्रको अन्तरकलह सामना गर्न नसकेर संसदलाइ विघटन गर्नु लज्जाजनक भएको भन्दै सत्ताधारिले के भन्छन भन्दा पनि विधि र पद्धति ठूलो कुरा भएको के. सि. ले उल्लेख गरे ।
ओलीले संसदकै अधिकार कुण्ठित गर्दै अबिस्वासको प्रस्ताब ल्याउन पाउने संसदको अधिकार बन्चित गरेको पुर्व उपप्रधानमन्त्री के. सी. ले आरोप लगाए ।
नेपालमा बाह्य शक्तिको चलखेल सकृय रहेको भन्दै नेता के. सी. ले यहाका तल देखि माथी सम्म आफ्ना स्वार्थ पूरा गर्ने किसिमका ब्यक्तिहरुको तह मिलाउन खोजेको बाह्य शक्तिको स्वार्थ बुझे पनि नेतृत्वमा रहेकाले आफ्ना गुट गत स्वार्थ पूरा गर्नको लागि गुलाम बनिरहेको उनले बताए ।
ओलिले नक्साको निहुमा आफुलाइ रास्ट्रबादी भएको दावी गरेता पनि नक्सा पारित गर्नेकुरामा ओलिको मात्रै होइन सबै पार्टी सामेल भएको र सबैले सहयोग गरेको कुरा उल्लेख गर्दै नेता के. सि. ले नक्सामा सबैको योगदान भएको उल्लेख गरे ।
संविधान जारी गर्ने बेला र नाकाबन्दी को बेला लिएको अडानले ओलिलाइ त्यतिबेला समर्थन गरिएको तर अहिले संबिधानमाथी कु गरि देशलाइ अस्थिरता तर्फ धकेल्ने कार्य गरेकाले समर्थन गर्न नसकिने के. सि .को भनाइ छ । आफू र आफ्नो पार्टीले जसलाइ पनि गुण र दोसका आधारमा समर्थन र बिरोध गर्ने उनले बताए ।
संघियता देशलाइ बोझ हो भन्दै नेता के. सी .ले यो ब्यबस्था देश र जनतालाइ भारी बोकाउने काम मात्रै भएको र टाठा बाठा मान्छेले आफ्नो मात्रै फाइदा उठाउने गरेको बताए ।