अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरुलाई फागुन २ गतेदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाईने भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरुलाई फागुन २ गतेदेखि ६ गतेसम्म दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाईने भएको हो ।
सरकारले कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारी राखे अनुसार जिल्लाका सबै वार्ड, पालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप लगाईने तयारी गरिएको हो ।
यस्तै फागुन २ बाट सर्वसाधारणलाई सेवा प्रवाह गर्ने जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकमलाई पनि खोप दिने भएको छ । साथै पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविका, जिल्लाका पत्रकारलाई पनि त्यही बेला खोप लगाइनेछ ।
उता अर्घाखाँची जिल्लामा अहिलेसम्म १,३७८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
नेपाल सरकारले तोकेअनुसार अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य क्षेत्रका १,३७८ जना व्यक्तिहरुलाई खोप दिईएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जनाएको छ ।
कोभिशिल्ड नामक खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वंय सेबिका, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई लगाई सकेको छ ।
उता सरकारले फेरी २० लाख भारतमा बनेको कोभिसिल्ड खोप खरिद गरेको छ ।