अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ।
सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको हो ।
अर्घाखाँचीका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुवात भएका छन् । सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्ने वातावरणको सिर्जना गर्न कार्यक्रम अघि सारिएको सबै पालिकाले बताएका छन्। विद्यालय खुलेको दिनमा प्रति दिन रु १५ का दरले दिवा खाजा खुवाउउदै आईएको छ ।
यस्तै जिल्लामा अभिभावक, आमा समूह वा क्लब र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीयस्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने जनाइएको छ । बजारमा किनिएका सामान र पत्रु खान पूर्ण रुपमा निषेध गरिएको छ । विद्यालयले मासिक रुपमा खुवाएको खाजाको भुक्तानी आवश्यक बिल भरपाईको आधारमा पालिकाले भुक्तानी गर्दै आएका छन् ।
दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई पूरै अवधि विद्यालयमा रहने वातावरण सिर्जना गर्नुका साथै अखाद्य वस्तु र पत्रु खानको प्रयोगमा कमी ल्याउने पालिकाहरुको भनाई छ । यसवाट निजी विद्यालयमा जस्तै विद्यार्थीको सिकाइस्तर र निरन्तरतामा वृद्धि हुने अपेक्षा गरिएको गरिएको छ ।
उता शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ। केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो।
साथै सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ। सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ। सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ।