अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा बुधबारदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ ।
सन्धिखर्क लगायत जिल्लाभर विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस बुधबारदेखि तीन दिन फागुन ६, ७ र ८ गतेसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको हो ।
यस्तै सन्धिखर्क नगरपालिका लगायत जिल्लाभरका पालिकाले सम्पूर्ण विधालयहरुलाई राष्ट्रिय प्रजातन्त्र दिवस बुधबारदेखि तीन दिनसम्म हर्षोल्लासपूर्वक मनाउन अनुरोध गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्लाभरका पालिका, सरकारी कार्यालय, विधालयहरु लगायतमा हर्षोल्लासपूर्वक भव्यतासाथ मनाउन लागिएको छ ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ । यस अवसरमा सरकारी एवं गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना हुने जनाइएको छ । सो अवसरमा आजदेखि तीन दिनसम्म दीपावली गर्न पनि सरकारले आह्वान गरेको छ ।