अर्घाखाँचीमा चिउरी मासिने क्रम बढेपछि मह उत्पादनमा कमी

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ पालिकामा वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो ।
जिल्लाका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा चिउरीको जङ्गल मासिने क्रम बढेको छ । पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा फूल उत्पादनमा कमी आएको हो । घर निर्माण गर्दा काठका रुपमा समेत जथाभावी सामुदायिक वन समूहबाट चिउरी कटान गरेपछि समस्या थपिएको छ ।
चिउरी संरक्षण गर्नुपर्ने ठाउँमा जथाभावी कटान गरेपछि निकै समस्या आएको मौरी व्यवससायीहरुले अर्घाखाँचीडट्कमसँग बताए ।  पछिल्लो वर्षमा मह उत्पादनमा ठुलो गिरावट आएको उनिहरुको भनाइ छ । उनिहरु भन्छन्; “अब चिउरी संरक्षणमा जोड दिनका लागि सचेतनामूलक कार्यक्रम गरी सबैलाई बुझाउनु पर्ने आवश्यकता महसुस भएको छ । 
अर्घाखाँचीमा वर्षेनी मौरीको मह उत्पादनमा गिरावट आउँदा सरोकारवाला निकाय चिन्तित नभएको देखिन्छ । बहुउपयोगी चिउरीका अनेक गुण रहेका छन् । पानीको मुख्य स्रोतदेखि यसको फलबाट उत्पादन हुने विभिन्न वस्तुबाट समेत राम्रो आम्दानी गर्न सकिन्छ ।
समुद्र सतहबाट २०० देखि एक ५०० मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटरसम्म अग्लो हुन्छ । घमाइलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धाइरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्रामसम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षका रुपमा लिइन्छ ।
हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कात्तिकदेखि माघसम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बिजुला हुन्छन् ।
चिउरीको पात गाईबस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । यसको घिउ खान तरकारी पकाउन र रोटी पकाउन र औषधिका रुपमा खुट्टा फुटेकामा, घुँडा दुखेकामा, अनुहारमा आएको दाग हटाउन प्रयोगमा आउँछ ।
चिउरीको घिउ साबुन र मैनबत्ती बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधि बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार चिउरीको बिउबाट बिरुवा उमारेर रोप्नु राम्रो हुन्छ । असार–साउनमा पाकेर पहेंलो भएको फलबाट बीउ निकाल्नु पर्छ । बीउलाई धोएर छायाँमा सुकाइने गरिन्छ । फलबाट निकालेको सात दिनभित्र रोपेको बीउ राम्ररी उम्रन्छ ।
पात कुहेर बनेको जङ्गलको मलिलो माटो एक भाग, बालुवा एक भाग र राम्ररी पाकेको गाईबस्तुको मल एक भाग मिलाएको माटोमा १२ घण्टा अगाडिदेखि भिजाएको बीउ चार अंगुल जति गाडेर रोप्नुपर्छ । असार, साउन र भदौसम्म नै बीउ रोप्न सकिन्छ । चिउरी रोपेको १२ वर्षदेखि ७० वर्षसम्म राम्रो फल्ने विज्ञको भनाई छ । 
अर्घाखाँची जिल्लाभरका सामुदायिक वनमा कति प्रतिशत चिउरी छ भन्ने यकिन तथ्याङ्क भने सङ्कलन भएको छैन् ।