मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पुनः पानी हालिदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पुनः पानी हालिदै छ ।
सोमबार आयोजनाले सुरुङ परीक्षणका लागि पुनः पानी हाल्न लागेको हो । बिहान ११ बजे खानेपानी मन्त्री मणि थापाले स्विच अन गरेर सुरुङमा पानी हालेर उद्घाटन गर्ने कार्यक्रम रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । त्यसका लागि मन्त्री थापा मेलम्ची बिहानै मेलम्ची जाने कार्यक्रम छ ।
असअघि मेलम्चीको पानी सुन्दरीजलसम्म पुर्‍याउन असार २१ गते सुरुङ परीक्षणका लागि पानी हालिएको थियो । पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट असार ३१ गते एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका थिए ।
इन्जिनियरको शव इन्द्रावती बगरमा भेटिएपनि चालक अझै वेपत्ता छन् । सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहान तर्फ नै फर्किएर दुर्घटना भएको थियो ।
चार किलोमिटरको प्रेसर थेग्न नसकेर १७ नम्बरको गेट फुटेको थियो । दुर्घटनापछि मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छानबिनको लागि प्राविधिक समिति खटाएको थियो । उक्त समितिले १७ नम्बरको गेटको नटबोल्ट कमजोर भएर गेट फुटेको प्रतिवेदन दिएको थियो ।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको निर्देशक तिरेश खत्रीले बताउनुभयो । परीक्षणका क्रममा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखदेखि काठमाडौँस्थित विभिन्‍न अस्पतालहरुसँग समन्वय गरिएको छ ।
खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताउनुभयो ।
दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङको क्षमता ६ हजार लिटर प्रतिसेकेण्ड (६ क्यूबिक मिटर प्रतिसेकेकेण्ड) छ । तर पहिलो चरणमा क्षमताको तीन प्रतिशत मात्र अर्थात् तीन सय लिटर प्रतिसेकेण्ड पानी छाडिने खत्रीले बताउनुभयो ।
मेलम्ची सुरुङ दैनिक ५१ करोड लिटर पानी ल्याउन सकिने गरी बनाइएको छ । सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी नौ किलोमिटर सुरुङ खनी हालकै मुहानमा मिसाउने योजना छ । इमेज च्यानलमा समाचार छ ।