मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सदस्यमा अर्घाखाँचीका विष्णुप्रसाद भुसाल चयन

अर्घाखाँचीडट्कम संवाददाता 
पोखरा । मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सदस्यमा अर्घाखाँचीका विष्णुप्रसाद भुसाल चयन भएका छन् । पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार भुसाल समाजको केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
पोखरामा सम्पन्न समाजको २३ औं केन्द्रीय परिषद बैठकबाट रुपन्देहीका गोविन्द खनाल सभापतिमा चयन भएका छन् । उनी यसअघि समाजको वरिष्ठ उपसभापति थिए । समाजको वरिष्ठ उपसभापतिमा सुशील बस्नेत, उपसभापति कृष्ण रावल (पाल्पा), महिला उपसभापति रत्न लक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल (काठमाडौ) निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, ७ जना प्रदेश सचिव र ४ जना समावेशी सचिवमा क्रमशः विकास थापा (मोरङ), अमरबहादुर गौतम (पर्सा), बाबुहरी आचार्य (चितवन), धिरज थापा (कास्की), मिना ढकाल (रुपन्देही), पुष्पा मल्ल (सुर्खेत) र मदन बहादुर कुँवर (अछाम) चयन भएका छन् ।
बैठकले देशमा नयाँ शासन व्यवस्था आएपनि मानव अधिकार र लोकतन्त्र कमजोर अवस्थामै रहेको ठहर गर्दै शान्ति समाजको भूमिकालाई अझ शसक्त बनाउँदै लैजाने निर्णयसमेत गरेको छ । बैठकले प्रतिनिधि सभा विघटलाई लोकतन्त्रमाथिको प्रहार भनेको छ । सर्वोच्चले संसद पुनःस्थापना गरेर लोकतन्त्रालाई बचाएको समाजको निष्कर्ष छ । नयाँ संविधान जारी भएर तीन तहका सरकार बने पनि सुशासन कायम हुन नसक्नु सरकारको कमजोरी भएको समाजले ठहर गरेको छ ।
समाजका नवनिर्वाचित अध्यक्ष खनालले संसद पुनःस्थापना उपलब्धि भए पनि त्यसलाई जोगाउन शान्ति समाजको भूमिका अझै बढेको बताए । पछिल्ला घटना क्रमले लोकतन्त्र र मानवअधिकार सुरक्षित हुन नसकेको पुष्टि गरेको भन्दै उनले त्यसका लगि जनस्तरमा सचेतना र नेतृत्वलाई सही मार्गमा हिड्न दबाब दिनुपर्ने जोड दिए ।