अर्घाखाँचीका टाेपबहादुर रायमाझी र चन्द्र बहादुर खड्का अन्तत: एमालेमा जाने, पद जोखिममा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझी तथा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का (उज्ज्वल) अन्तत: नेपाल कम्युनिस्‍ट पार्टी (एमाले) मा जाने भएका छन् । 
फाइल तस्बिर । अर्घाखाँचीडट्कम
रायमाझी र चन्द्र बहादुर खड्काले सर्वोच्च अदालतले नेकपाकाे बैधानिकता ऋषि कट्टेललाई प्रदान गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि केपी ओलीले नेतृत्व गर्ने पार्टी एमालेमा रहने निर्णय गरेका हुन् ।  
पुर्व माओवादी केन्द्रका नेताहरु रायमाझी,  चन्द्र बहादुर खड्का सहित मन्त्रीहरू  रामबहादुर थापा (बादल), लेखराज भट्ट, प्रभु शाह, गाैरीशंकर चाैधरी, दावा लामा सहित   एमालेमा जाने भएका छन् ।
यो सँगै अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझीको पद जाने सम्भावना रहेको छ । सांसदहरूले पार्टीको ह्वीप मान्नुपर्ने हुन्छ । ह्वीप नमानेमा उनीहरूको सांसद पद जाने कानुनी व्यवस्था रहेको छ । उनीहरू आफ्नो पार्टीमा फर्किएनन् भने सांसद पदबाट हटाउने सम्भावना रहन्छ ।
उता नेकपा खारेज गर्ने सर्वोच्चको फैसलालाई लिएर अर्घाखाँची जिल्लामा पूर्वएमाले र पूर्वमाओवादीका नेता कार्यकर्ताहरु एकाएक उत्साहित भएका छन्।
पूर्वएमाले र पूर्वमाओवादीका नेता कार्यकर्ताहरु सर्वोच्चको फैसलापछि उत्साह भएका हुन् । 
उता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेजीपछि एकै ठाउँमा उभिएर राजनीतिक अभ्यास गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले अब फरकफरक बाटो हिड्ने निर्णय गरेसँगै अर्घाखाँचीमा पनि पूर्वएमाले र पूर्वमाओवादीका नेता कार्यकर्ताहरुले पार्टी कार्यालयका काग-जात मिलाउनेदेखि नयाँ बोर्ड राख्ने सम्मको तयारीमा झुटेका छन् । 
सन्धिखर्कमा रहेको साविक नेकपाको मदन आश्रित स्मृति भवन पार्टी कार्यालयलाई ओली पक्षले  नेकपा एमाले कार्यालयमा परिणत गर्दै छ ।  माधवकुमार पक्षका नेता – कार्यकर्ताले अहिलेसम्म खासै कुनै प्रतिक्रिया जनाएका छैनन् । तर केन्द्रबाट अब फरकफरक बाटो हिड्ने निर्णय गरेसँगै  उत्साहित देखिएका छन् । 
यस्तै टोप बहादुर रायमाझी र चन्द्र बहादुर खड्का एमालेमा नै जाने भएपनि नेकपा माओवादी केन्द्र अर्घाखाँचीका नेता कार्यकर्ताहरुले उत्साह भएका छन् ।  समग्र अर्घाखाँचीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पुरानै पार्टीमा फर्केको भन्दै खुशी व्यक्त गरेका छन् । नेकपा विभाजनसँगै दुबै पक्षका नेता कार्यकर्ताहरु एक अर्कामा तिक्तता पोख्दै भित्रभित्रै आरोप प्रत्यारोपमा उत्रिका थिए । 
उता सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि सन्धिखर्कमा रहेको साविक नेकपाको मदन आश्रित स्मृति भबन पार्टी कार्यालयलाई नेकपा एमाले कार्यालयमा परिणत गर्दैछन् । ब्युँतिएको एमाले जिल्ला नेताहरुको अनुसार मदन आश्रित स्मृति भबन पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखी उद्घाटन गर्ने तयारी भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले पनि पुरानै कार्यालयमा निरन्तर गर्ने तयारी गरेको बताइएको छ ।  
दुई दल मिलेर नेकपा बन्नुअघि पनि उक्त भवनमा नेकपा एमालेकै पार्टी कार्यालय थियो । सर्वोच्चको आइतबारको फैसलापछि पुन: एमालेकै पार्टी कार्यालय बनाइने छ । 
जिल्लामा टोप बहादुर रायमाझी सहित चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल, जिवनारायण कोईराला र लक्ष्मण रायमाझी लगायतका नेताहरु ओली खेमामा रहेका थिए । 
यस्तै जिल्लामा डा. दुमन थापा, पुर्व जिविस सभापति पिताम्बर भुसाल, बेदुराम भुसाल, डिलाराम आचार्य, डा. विजय पौडेल, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक, शितगंगाका उपमेयर टीका रेश्मी, पिताम्बर सारू, रामबहादुर चौहान, प्रेमनारायण गैरे, भेष बहादुर के.सी,  छमकुमारी खनाल लगायत नेकपाको प्रचण्ड–नेपाल खेमामा रहेका थिए ।