काठमाडौं । भारतीय जेलमा सुनुवाइविनै ४० वर्षदेखि रहेका दुर्गाप्रसाद तिम्सिना शनिबार (आज) छुट्नुभएको छ । पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरमा रहनुभएका उहाँ कोलकाता उच्च अदालतको आदेशबमोजिम छुट्नुभएको हो ।
शारीरिक र मानसिक रूपमा कमजोर उहाँ भोलि नेपाल आइपुग्नुहुनेछ । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभएको थियो । जेलबाट छुट्नेबित्तिकै दुर्गाप्रसादले आफू निर्दोष रहेको बताउनुभयो ।
अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उहाँलाई छाडेको हो । अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा काम खोज्दै दार्जिलिङ पुग्नुभएको थियो । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेपछि उहाँलाई विभिन्न जेलमा सारिएको थियो । सन् १९८२ मा उहाँ अदालती सुनुवाइका लागि मानसिक रूपमा स्वस्थ नभएको जिल्ला अदालत दार्जिलिङले भनेको थियो ।
त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उहाँ ४० वर्षसम्म कारागारमा बस्नु परेको हो । कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो । इमेजखबरमा समाचार छ ।