काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका चार जना नेता बिहीबार सांसद पद खारेजीसँगै मन्त्रीबाट पदमुक्त भएका छन् । २०७४ सालको चुनावबाट निर्मित प्रतिनिधिसभामा दल त्याग गरेको आधारमा प्रत्यक्ष निर्वाचित सांसदको पद गएको यो पहिलो घटना हो । कान्तिपुरमा समाचार छ ।
माओवादी केन्द्रको सिफारिसमा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली ४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीको सांसद पद गुमेको हो ।
सांसद पद गुमेसँगै मन्त्रीबाट पदमुक्त भएका चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअन्तर्गत मन्त्रीमा पुनर्नियुक्ति गर्ने तयारी गरेका छन् । यसै सन्दर्भमा निवर्तमान सांसद तथा मन्त्री टोपबहादुर रायमाझीसँग कान्तिपुरका लागि मकर श्रेष्ठले गरेको कुराकानी :
माओवादी केन्द्रको सिफारिसमा संसद्ले तपाईंहरूको सांसद पद खारेज गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
यो कारबाहीको औचित्य छ जस्तो लाग्दैन । मलाई कारबाही गर्न प्रचण्डले जिताएको हो र ? म त दुई पार्टीको एउटै घोषणापत्र देखाएर निर्वाचित जनप्रतिनिधि हुँ । माओवादीले कारबाही गर्ने हैसियत के छ ? त्यसैले यो निर्णयविरुद्ध कानुनी रूपमा लड्न तयारी गरिरहेको छु । प्रचण्डले आफ्नो स्वार्थ पूरा नभएपछि जे पनि गर्न सक्छन् भन्ने यो निर्णयले देखायो । लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी हैसियतअनुसार हामीलाई कारबाही गर्न मिल्दैन ।
मौका मिल्दा प्रचण्ड कतिसम्म गिर्दा रहेछन् भन्ने यसले देखाउँछ । ओलीलाई निरकुंश, प्रतिगमन गर्यो भन्छन् तर प्रचण्डले मौका पाउँदा लोकतान्त्रिक विधिविपरीत जनप्रतिनिधिलाई मानौं आफैंले जिताएको हो जस्तो हठ राखेर कारबाही गरेका छन् । लोकतन्त्र र जनताको कदर हुन सकेको छैन ।
दाहालसँगको २९ वर्षे सहकार्य यति सहजै टुट्नुको कारण के हो ?
उहाँसँग २९ वर्षसम्म सहकार्य गरें । जनयुद्ध, शान्ति प्रक्रियाको काममा सहकार्य गरें । उहाँसँग जो–जो नजिक भएर काम गर्नुभयो, मोहन वैद्य, रवीन्द्र श्रेष्ठ, विप्लव, सीपी गजुरेल, गोपाल किराती, बाबुराम सबैले छाडे । हामीले अन्त्यमा छाड्यौं । इतिहास बोकेका, पार्टीका लागि लडेका योद्धाहरूकै कारण शान्ति प्रक्रियामा आइसकेपछि माओवादी पहिलो पार्टी बन्यो । ०७० को निर्वाचनमा तेस्रो पार्टी भयो ।
पछिल्लो चरणमा एमालेसँग मिलेर निर्वाचनमा गयौं । पार्टी एकता गर्यौं । एकतापछि विचार, राष्ट्र, जनता, योजना, विधि प्रक्रियामा उहाँलाई चिन्ता भएन । उहाँलाई केवल पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीको मात्रै चिन्ता भयो । उहाँ चरम महत्त्वाकांक्षी भएको पाएँ । पद र प्रतिष्ठामा मात्रै केन्द्रित हुनुभयो । योग्यता, पार्टीमा लगानी गरेका मान्छेहरूको सट्टा उहाँ अवसरवादी र टपरटुइयाँहरूको घेराबन्दीमा पर्नुभयो । पार्टीलाई एकतातर्फ अघि बढाउनेभन्दा पनि फुटाउनेतिर लाग्नुभयो ।
माओवादीसँग रहँदा फेरि चुनाव जितिँदैन र पद पाइँदैन भन्ने लोभले तपाईंहरू ओलीतिर लाग्नुभएको त हैन ?
प्रचण्डले अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्नुहुन्न । उहाँ एकताबाट टाढिएर जानुभएको हो । हामी त एकतातिरै छौं । पहिला एमालेसँग नमिल्दा पनि मैले दुईपटक चुनाव जितेकै थिएँ नि । ओलीतिर लाग्नुमा मेरो केही स्वार्थ छैन ।
अब माओवादीको के भविष्य हुन्छ ? चुनावले नै देखाउँछ । ०६४ को चुनावमा पहिलो पार्टी भयो, ०७० मा तेस्रो भयो । ०७४ को चुनावमा एमालेसँग सहकार्य नगरेको भए माओवादीको अवस्था के हुन्थ्यो ? अबको चुनावमा प्रचण्ड र ओलीको हैसियत के हुन्छ ? थाहा भइहाल्छ ।
माओवादीको सिफारिसमा सांसद र मन्त्री दुवै गएपछि प्रधानमन्त्रीले अब के आश्वासन दिनुभएको छ ?
उहाँले केही आस देखाउनुभएको छैन । हामीले मन्त्री, सांसद भन्ने कुरा गौण ठानेका छौं । विचार, योजना राम्रो भयो भने सांसद पद आइरहन्छ । सांसद, मन्त्री भइन्छ कि भइँदैन भन्ने कुरा धेरै गौण हो । विचार योजनामा जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्ने भएकाले हामीलाई केही चिन्ता छैन ।
जनताको अगाडि कसरी जानुहुन्छ ?
कानुनी बाटो खोज्छौं । प्रचण्डको यो हर्कत जनताले राम्रै गरी बुझ्छन् भन्ने लाग्छ । प्रचण्डको नियत के हो ? भन्नेमा सीमित मान्छेलाई भ्रम थियो, त्यो पनि अब टुट्छ ।