गोमा भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा पछिल्लो समय डढेलो फैलने क्रमले तीव्रता लिएसँगै भौतिक संरचनामा क्षति पुगे पनि मानविय क्षति हुनबाट हालसम्म जोगिएको अवस्था छ । गत असोजदेखि हालसम्म वर्षात नहुँदा जिल्लाको ८२ स्थानमा डढेलो फैलिएको र फैलने क्रम यथावत रहेको छ ।
जंगलमा डढेलो फैलँदा चराचुरुङ्गी तथा वन्यजनावरका अलावा काठ, दाउरा र बहुमुल्य जडिबुटीहरूमा नोक्सानी पुगेको छ । जिल्लामा आगजनीको खबर पाउनासाथ यो वा त्यो नभनीकन यथाशीघ्र दमकल उपलब्ध गराइएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल बताउँछन् ।
मालारानी र छत्रदेव गाउँपालिकाको जंगलमा फैलिएको ढडेलो गाउँमा प्रवेश गरेसँगै त्यहाँ रहेका दुई वटा घर र पाँच वटा गोठमा क्षति पुगेको बुझिएको छ । यसरी गोठहरू जल्दा दुई वटा भैँसी र ६ वटा बाख्रा मरेका छन् । पीडित पक्षलाई राहत र डढेलो नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसँग जिज्ञासा राख्दा उनले डढेलो नियन्त्रण तथा पीडितहरूलाई गर्नुपर्ने आवश्यक सहयोगमा आफूलगायत सुरक्षाकर्मीहरूबाट कुनै कन्जुस्याइँ नगरिएको बताए ।
डढेलोका कारण आफनो सुन्दर घर र गोठ गुमाउन बाध्य बनेका छत्रदेव गाउँपालिका वडा नं. ४ धरमपानी निवासी नारायणबहादुर मगरका अनुसार यथास्थानमा घर बनाउँदा असुरक्षित हुने सम्भावना रहेकोले सुरक्षित बसोवासका लागि राज्यले जमिन उपलव्ध गराइदिनुपर्ने माग राखेका छन् ।
डढेलोका कारण सन्धिखर्क नगरपालिकामा ५६, शितगंगा नगरपालिकामा १०४६ दशमलव ३२ र भूमिमकास्थान नगरपालिकामा ७१ दशमलव ५ हेक्टर वन प्रभावित बनेको छ । यसैप्रकार छत्रदेव गाउँपालिकामा ८८, मालारानी गाउँपालिकामा ५७ र पाणिनी गाउँपालिकामा ९५ हेक्टर वनलाई असर पारेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लामो समयदेखि पानी नपरेकोले सडक धुलाम्य हुनुको अलावा जंगलमा फैलिएको डढेलोका कारण वातावरणमा प्रदुषण बढ्नुनुका साथै बिरामी हुनेको संख्यामा समेत बढोत्तरी देखिएको छ ।