मसाल निकट अखिल छैठौंका पूर्वअध्यक्ष टाेपबहादुर रायमाझी लगायतलाई सम्मान

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडाैं । नेकपा मसाल निकट अखिल (छैठौं) का पूर्वअध्यक्षहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा उर्जा, जलश्राेत तथा सिंचाई मन्त्री तथा छैठौंका पूर्व अध्यक्ष टाेपबहादुर रायमाझी लगायत पूर्वअध्यक्षहरु लीलामणि पोखरेल, देव गुरुङ, विनबहादुर कुँवर,  परी थापा, हिमलाल पुरी, कृष्ण अधिकारी, राजेन्द्र ढुंगाना र अनिलकिशोर घिमिरेलाई सम्मान गरेको थियो। 
     
अखिल (छैठाैं) का पूर्व अध्यक्षहरूकाे सम्मान तथा वर्तमान अध्यक्ष  विमल पाेखरेल द्वारा लिखित नेपालकाे विद्यार्थी आन्दाेलन  अखिल (छैठौं) काे इतिहास नामक पुस्तककाे विमाेचन समाराेहमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गर्नुभएको छ ।
बुधबार अखिल (छैठौं) ले काठमाडौंमा आयोजना गरेको पूर्वअध्यक्षहरुको सम्मान कार्यक्रममा बोल्दै राजमो अध्यक्ष केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि बताउनुभएको हो ।
उहाँले यसलाई संस्थागत गर्न चुनौति रहेको पनि बताउनुभयो । नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाएपनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का पूर्वअध्यक्षहरुले अहिले विद्यार्थी आन्दोलन कमजोर बनेको र विद्यार्थीमा संस्कार हराउँदै गएको बताएका थिए । पूर्व अध्यक्ष एवम् राजमो नेता कृष्ण अधिकारीले हिजोका दिनमा विद्यालय, कलेजहरु राजनीतिक चिन्तन गर्ने र देशको भविष्यबारे छलफल गर्ने केन्द्र हुन्थे भन्दै आज स्कुल, क्याम्पसमा छिर्दा चिन्ताजनक अवस्था देखिने गरेको बताउनुभयो ।
कार्यक्रममा सम्मानित पूर्वअध्यक्षहरु विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि तथा नेकपा (मसाल) का जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नुभएको थियो । यस्तै, राजमो अध्यक्ष केसीले अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलद्वारा लिखित ‘नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौं)को इतिहास’ नामको पुस्तक पनि विमोचन गर्नुभयो ।
अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीको अध्यक्षता, महासचिव महेशराज जोशीको सञ्चालन र सुवाष जिसीको स्वागतसहित अघि बढेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले ‘अखिलको झण्डा फरर…’ लगायतका जनवादी गीत प्रस्तुत गरेका थिए ।