अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दोस्रो अर्थात अन्तिम कोरोना खोप लगाउन शुरु गरिएको छ ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि आज वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन शुरु गरिएको हो । जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरु, सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षक, ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोज दिन शुरु गरिएको छ ।
जिल्लामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई दोस्रो अर्थात अन्तिम कोरोना खोप लगाई सकेका छन् ।
जिल्लाभर १५,७७४ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म र फागुन २३ गतेदेखि चैत ३ गतेसम्म जिल्लाभरका ६ पालिकामा १५,७७४ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने बारेमा पछि जानकारी गराइनेछ ।
अर्घाखाँची जिल्लामा एक दर्जन संक्रमित
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या १३ जना रहेको छ । भने जिल्लाका शितगंगा, मालारानी कोरोना मुक्त भएका छन् ।
उता जिल्लामा आजसम्म संक्रमितको संख्या ८१७ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८६ जना, शितगंगा नगरपालिकामा ११०, भूमिकास्थान नगरपालिकामा १४१, मालारानीमा ९१, पाणिनी गाउँपालिकामा ३४, र छत्रदेव गाउँपालिकामा ५५ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट ७८८ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७६ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२, मालारानीमा ८९, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १७ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो ।