बिजुला रायमाझी
सन्धिखर्क, अर्घाखाँची । आज वैशाख १८ “मे १ २०२१” अर्थात १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिक आन्दोलनले मान्यता प्राप्त गरेको, श्रमिकको मूक्तिको दिन, विदाको दिन, श्रमिक आन्दोनका अग्रजहरु र ज्ञातअज्ञात शहिदहरुलाई सम्झना गर्ने दिन विगतको याद आयो।
आफू १६,१७ वर्षको उमेरदेखि कुनै न कुनै भूमिकामा सहभागी भएको दिन, २०३५,३६ देखि कार्यक्रममा घर नबसेको स्मरण आज घरमा बस्दा नमजा त लागेको छ । यो कोभिड १९ कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन नेपाल सरकारले स्वास्थ्य सतर्कतासहित घरमा बस्न आचारसंहिता लागु गरेको छ । कुनै सभा, सम्मेलन, गोष्ठी सेमिनार गर्न बन्देज छ । हरेक मानिसका नैसर्गिक अधिकार पनि कोरोनाका कारण प्रतिबन्धित छन् । यो सरकारको प्रतिबन्ध होइन, प्रकृतिले लगाएको आचारसंहिता मान्नु पर्दछ । प्रकृतिमा हरेक जीव बाच्न पाउनु पर्दछ जसले यो वातावरणसँग आफूलाई भिजाउन सक्छ त्यो बाँच्छ होला अवस्य । अहिलेको परिस्थितिमा नियम मिचेर हिड्नु मूर्खता सिवाय केही हुदैन् ।
आजको सन्दर्भ छ श्रमिक दिवस, दिवशको बारेमा बोल्ने, बताउने भन्दा पनि कोरोनाका कारण श्रमिकको रोजीरोटी गुम्ने होकी भन्ने समस्याले श्रमिकहरु पिरलिने अवस्था नआओस भनेर कामना गर्नृु पर्ने भयो । हरेक प्राकृतिक विपत्ति होस या मानव निर्मित घटना त्यसबाट प्रत्यक्ष प्रभावित हुने भनेको श्रमिक वर्ग नै हो । यो कोरोनाले पनि श्रमिक वर्गलाई अछुतो राख्न सक्दैन होला। श्रमिक भन्नु नै बिहान बेलुकी श्रम गरेर खाने समुदाय हो। काममा जान नपाए छोराछोरीको पेट भोकै हुन्छ । हुनेखानेलाई कुन अस्पतालमा सुबिधा छ, कुनमा छैन भन्ने पीर होला तर श्रमिकलाई? श्रमिकको पूजी भन्नु नै श्रम र पसिना हो । दिनु श्रम ,गुमाउनु शरीर सिवाय केही हुँदैन ।
हरेक समाजमा तीन वर्ग रहेका हुन्छन् उच्च, मध्य र निम्न । सजिलो गरी भन्नु पर्दा हुनेखाने र हुँदा खाने । हुँदा खानेमा श्रमिक वर्ग पर्दछन् तर श्रम नै बेच्न नपाए के गर्ने ? यस्ता प्राकृतिक समस्या, प्रकोप र महामारीको असरले निम्न वर्गमा प्रत्यक्ष प्रभाव पर्छ ।हुने खानेहरुले जीवन दान दिएजस्तै गरी काम दिनु हुँदैन । सेवाको, श्रमको उचित पारिश्रमिक सम्मानसाथ दिने सस्कार विकास गर्नु आजको आवस्यकता हो । श्रमजीवीहरु माग्ने होइनन्। चाहे जुनसुकै श्रम होस ।सामाजिक मर्यादा सहित श्रम र पसिना दिने वर्ग नै समाज विकासका आधार स्तम्भ हुन् ।
जहाँसम्म मज्दुर तथा महिला मूक्ति आन्दोलनको ऐतिहासिक पृष्ठभूमिको सन्दर्भलाई फर्केर हेर्दा श्रमिक आन्दोलन र महिला मूक्तिआन्दोलन एक अर्काका परिपूरक आन्दोलन हुन् । महिला मूक्ति आन्दोलन सफल हुन् वर्गीय मूक्तिको आन्दोलनमा सहभागी हुनै पर्दछ । समाजमा जातीय, वर्गीय र लैगिक आधारमा जबसम्म विभेद कायम रहन्छ तबसम्म समाजले प्रगतिको बाटो पनि समाउन सक्दैन भन्ने बुझेर आन्दोलनका अग्रजहरुले समाजका शोषक वर्ग विरुद्ध शोषित वर्ग, श्रमिकहरुलाई सचेत पार्दै मजदुर महिलाबाट आन्दोलनको ज्वारभाटा सुरुवात गरेको इतिहास साक्षी छ । विश्व मज्दुर तथा महिला आन्दोलनको इतिहास हेर्दा कुनै पनि आन्दोलन श्रमिक महिलाहरुको सहभागिता विना सफल देखिदैन । नेपालमा पनि सामन्ति राज्यसत्ताविरुद्धको योगमाया न्यौपानेको सामाजिक जागरण आन्दोलन, शैक्षिक, राजनीतिक अधिकार आन्दोलन, भू दासमूक्तिको आन्दोलन जस्ता हरेक निर्णायक मोडमा श्रमजीवी वर्ग र महिलाहरुको अतुलनीय योगदान रहेको छ ।नेपालमा लोकतन्त्र,गणतन्त्र प्राप्तिको जन आन्दोलनमा पनि वुद्धि ,विवेक,श्रम ,लगानी,ज्यान,श्रृजना, कला, गला ,तन मन धन हरेक हिसाबले श्रमजीवीको योगदान छ ।कुनै पनि आन्दोेलनमा महिला र श्रमजीवीको उपस्थितिले सफलता र असफलताको संकेत गर्दछ भन्ने भनाइ पाइन्छ ।जसको ज्वलन्त उदाहरण हो अ.रा.श्रमिक महिला दिवश र अ.रा.श्रमिक दिवश ।
अमेरिकाको शिकागो शहरको धागो कारखानाबाट सुरु भएको श्रमिक महिला आन्दोलन विश्वभरि संगठित आवाज उठाउदै श्रमिकहरुका हक हित संरक्षण गर्न थुप्रै अग्रजहरुले ज्यान गुमाए,जेलजीवन विताए पनि श्रमिकहरुका आवाज रोकिएनन् ।समान कामको समान ज्याला ,८घण्टा काम ,८ घण्टा आराम,८ घण्टा मनोरञ्जन जस्ता थुप्रै मागहरुको संबोधन सहित अ.रा.श्रमिक संगठनको स्थापना नै आन्दोलनको उपलब्धि हो ।
नेपालमा पनि संविधान, नियम कानुनहरु निर्माण भएका छन् ।व्यबहारिक कार्यान्वयन र निष्पक्ष अनुगमनलाई प्रभाबकारी बनाउन आवश्यक छ ।समाजको वास्तविक अवस्था अझैपनि सोंचाइमा परिवर्तन आएको छैन ।धनी र गरिबको खाडल झन गहिरिदै गएको छ ।हुने खानेहरुले श्रमजीवी वर्गलाई चेतना सहितको अभिमूखिकरणभन्दा नगद र वस्तु दिएर गुन लगाउने प्रवृति रोकिएको छैन ।वास्तविक समाज परिवर्तका आधार श्रमजीवी नै हुन तर समाजमा उनीहरुको कुनै तथ्य तथ्याङ्क र अभिलेखहरु छैनन्।समाजमा पहिले साहुमहाजन कहलिएका वर्ग कै कुरा सुनिने,हिजका सामन्त भनेर चिनिएका आज नयाँ रुपमा आएका छन्।समाज परिवर्तनको आधार श्रमजीवी वर्गलाई फुटाउने ,संगठित हुन नदिने ,केही वर्गको स्वार्थमा प्रयोग गर्ने नयाँ सामाजिक भाइरसको रुपमा आउन सक्ने खतराका संकेत देखापर्न थालेका छन्। जबसम्म श्रमजीवी वर्गमा आत्मस्वाभिमानको भावना पलाउँदैन तबसम्म सामन्तवादका अवशेषहरुले श्रमिक र महिलाको बलमा आफूलाई मालिक बनाइरहन्छन् ।
तसर्थ आजको दिनको ऐतिहासिक पृष्ठभूमि नै नबुझी पूजीपति वर्ग वा रोजगारदाताको बक्सिजमा श्रमिक वर्ग रमाउँदासम्म सामाजिक क्रान्ति सम्भब छैन ।सबै व्यक्तिमा काम गरेर खाने,नसके गर्नेलाई सम्मान दिने,श्रम बौद्धिक, मानसिक वा शारीरिक जुनसुकैको पनि सम्मान हुने ,काममा मालिक हाकिम र सेवक होइन सहकर्मीको व्यबहार हुने,काम गर्नेहरुमा पनि म काम गरेर खान सकेको छु अरुको भरमा बाँच्नु परेको छैन भन्ने आत्मसम्मान पैदा गर्ने वातावरण सृजना हुन जरुरी देखिन्छ ।समृद्धिको अर्थ धनी र सम्पन्न हुनु कदापि होइन। आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक र मनोवैज्ञानिक रुपमा सकारात्मक विकास हुनु हो ।बाचौं र बचाऔं भन्ने भावनाले ओतप्रोत सचेत नागरिक भएको समाज नै एक समृद्ध र सभ्य समाज ठहरिन सक्छ ।यस्ता अभियान ,विचार र भावनालाई व्यबहारमा उतार्न एक हातले ताली बज्दैन भनेजस्तै समाजमा एकदुईजनाको चाहनाले सम्भव छैन ।हातमा हात साथमासाथ मिलाएर सकारात्मक सोंचले सबैमा अनुरोध गर्दै आफैबाट सुरु गर्नु पर्दछ। कस्ले कताबाट के दिन्छ होइन आफूले समाजलाई के दिन र गर्न सकिन्छ ,के गरेँ भन्ने भावनाले हिड्न जरुरी देखिन्छ ।सुरुमा सामाजिक अभियान्तालाई आफ्नो पर्खाल नागेर बाहिर आउन सजिलो छैन ।अनेकांै समस्याले घेर्न सक्छ ,सबैभन्दा आफ्नो इच्छाशक्तिले पाइला तलमाथि अगाडिपछाडि जता परेपनि निरन्तर चाल्नु पर्छ । अवरोध ,आलोचना ,असहयोग,विषालु अदृश्य काँढाहरु भन्ने कुरा अभियानमा गौण कुरा हुन।आफ्नो निजी स्वार्थमात्र छैन र सामाजिक हितकार्य भए सत्यकोबाटोमा लाग्न , यथार्थ बोल्न,लेख्न श्रमजीवी,कलमजीवी,कलाकार, सचेत संचारकर्मी र अभियान्ता डराउदैनन् ।
हाल नेपाल सरकारले नेपाली जनतालाई सगरमाथाको उचाईसँगै आत्मस्वाभिमानसाथ आत्मनिर्भर बन्दै समृद्धिका आधार खडा गर्न विभिन्न अभियान अगाडि सारेको छ । बेरोजगारलाई स्वरोजगार,जनता आवास कार्यक्रम,सडक बालबालिकाको व्यबस्थापन,डिजिटल नेपाल, डिजिटल स्वायल ल्याब जस्ता अभियानले जनतालाई घरमा बसीबसी व्यक्तित्व विकास गर्न र सेवा दिन खोजेको छ ।हामी राम्रा कुराहरुलाई सहयोग गरौं, अनुगमन गरौं, भ्रष्टाचार ,अनियमितता, ढिलासुस्ती र सस्तो लोकपृयताप्रति सजग बनौं,दीगो विकास योजना ओझेलमा पर्नबाट जोगाऔं। यो समाजका सचेत नागरिकको कर्तब्य हो । यो वर्षको अ.रा.श्रमिक दिवसले हामी सबैमा वर्गीय समानताको भावना विकास होस ।श्रमजीवीको सक्रिय भूमिका बिना समाजको विकास सम्भव छैन ।श्रमजीवीहरु एक भएर आफू बसेको समाज आफै सिंगारौं ।समाजमा जोसँग जे छ त्यही दिने हो विचार,विवेक,श्रम,सहयोग, सद्भाव,समझदारी,तन, मन,धन,जन जे सम्भव छ लिने र दिने संस्कार बसालौं ताकि हाम्रा सन्ततिले असल संस्ंकार सिकुन । यो दिवशले हामी सबैको शरीरमा मानिसलाई परास्त गर्ने सोंच होइन रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाओस , श्रमको उचित कदर गर्ने बानिको बिकास होस यहि शुभकामना ।