कामीरिता शेर्पा २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला राखे


सुरज कुँवर कान्तिपुर
काठमाडौँ — नेपाली आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला राखेका छन् । 
काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार, उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् । उनीसहित १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडेका थिए ।
कम्पनीका अनुसार, कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् । उनीहरु तीन दिनअघि मंगलबार आधार शिविरबाट हिँडेका थिए ।
सेभन समिटले यो टोली आज चौथो शिविरमा फर्किसक्ने जनाएको छ ।
यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ । जसमा ९२ महिला र ३ सय १५ पुरुष छन् ।