अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा भोली बैशाख २६ गतेदेखि अक्सिजन १० बेडको एचडियु सञ्चालनमा आउने भएको छ ।
अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए अनुसार भवन निर्माणको करिब ७ महिनापछि भोलीबाट कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सञ्चालनमा आउन लागेको हो ।
डा. गौतमका अनुसार कोरोना संक्रमित ४० जना बिरामी भर्ना गरि उपचार गरेको र १९ जना निको भई डिस्चार्ज भएको छ । अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।
यस्तै जिल्ला अस्पताललाई अर्घाखाँची सिमेन्टबाट ४ वटा ठुलो अक्सिजन, लुम्बिनी प्रदेशका कानुन मन्त्री चेतनारायण आचार्यको पहलमा व्यवसायी बालकृष्ण भुसालबाट ८ वटा ठुला अक्सिजन सिलिन्डर प्राप्त भएको छ । भने लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनाराणण आचार्यले उक्त अक्सिजन भर्न लाग्ने खर्चको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।
साथै अस्पताललाई सन्धिखर्क नगरपालिकाबाट ४ वटा ठुलो अक्सिजन सिलिन्डर, नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक कुमार खनालको पहल र अर्घाखाँची–जापान समाजका अध्यक्ष बाबुराम पौडेलको सामुहिक सक्रियतामा ५ वटा “इलेक्ट्रिक अक्सिजन मेसिन“ उपलब्ध गराउन ४ लाख पचास हजार सहयोग अस्पताललाई प्राप्त भएको छ । साथै अस्पताललाई नेशनल प्याथ ल्याव अर्घाखाँचीबाट एचडियुमा बिरामीको धैर्यताको, मनोबलताको लागि म्युजिक सिस्टम जडान भएको छ ।