अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको खापडाँडाका एक जना युवाको भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणका कारण निधन भएको छ ।
किमडाँडाको खापडाँडाका २८ वर्षिय कृष्ण बिककाे दिल्लीको रेवाडीस्थित अस्पतालमा कोरोना संक्रमणका कारण शनिबार राति निधन भएको हो ।
पछिल्लो केहीदिन देखि कोभिड संक्रमित भएका कृष्णलाई अफ्ठ्यारो भएपछि पछिल्लो एक सातादेखि रेवाडी अस्पतालमा भर्ना गरिएको नारायण शर्माले बताउनु भयो । हिजोसम्म अवस्था ठीकै भएपनि हिजो भेन्टिलेटरमा राखेर उपचार चलिरहेका बेला सास लिन अप्ठ्यारो भएपछि राति १० बजेतिर निधन भएको नारायण शर्माले बताउनुभयो ।
उनि झण्डै १२ वर्षदेखि ग्रीन पार्कस्थित कोठीमा काम गर्दै आएका थिए । उनका घरमा १ बहिनी र अपाङ्ग आमा रहेका छन् ।
२७ दिनको अवधीमा १३ जनाको मृत्यु
उता अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार तथा विवरण अनुसार योसँगै भारतमा गत चैत्र ३१ गते यता २७ दिनको अवधीमा विभिन्न कारणले १२ जनाको मृत्यु भएको छ ।
जसमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाका निम बहादुर थापका २२ वर्षीय छोरा पुरन थापा भारतको राजधानी दिल्ली नजिक उत्तर प्रदेशको गाजियाबादमा वैशाख २६ गते शनिबार मृत फेला परेका थिए ।
किमडाँडाको खापडाँडाका २८ वर्षिय कृष्ण बिककाे दिल्लीमा कोरोना संक्रमणका कारण वैशाख २६ गते शनिबार निधन भएको थियो ।
पाणिनी गाँउपालिका वार्ड नम्बर ४ पटौटीको कुडापानीका ४० वर्षिय थम्मन सिंह थापा छेत्रीको वैशाख १७ गते शुक्रबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
मालारानी गाँउपालिका वार्ड नम्बर २ मरेङको रानीचौरका ५३ वर्षिय लाल बहादुर नेपालीको वैशाख २० गते सोमबार कोरोना संक्रमणका कारण उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्ली स्थित नोयडामा निधन भएको थियो ।
मालारानी गाँउपालिका वार्ड नम्बर ५ बाँगीको कुजेरीका ४५ वर्षिय श्री किसन थापाको वैशाख २० गते सोमबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडा हटियाका राम बहादुरका ३३ वर्षिय साईलो छोरा सुभास कुमारको गत वैशाख १७ गते शुक्रबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
नुवाकोटको चिचौरका ३७ बर्षिय दिपक सुनारको गत वैशाख ११ गते शनिबार कोरोना संक्रमणका कारण उपचारको क्रममा नयाँ दिल्ली स्थित ग्रेटर कैलाशमा मृत्यु भएको थियो ।
यस्तै ढिकुराका भिम बहादुर सुनारका ३२ बर्षिय छोरा बिष्णु सुनारको वैशाख ११ गते शनिबार नै भारतको राजस्थानमा कोरोना संक्रमणबाट निधन भएको थियो ।
साथै २०७८ वैशाख ८ गते बुधवार मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय छोरा विरेन्द्र खड्काको दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा निधन भएको थियो ।
यस्तै ढाकावाङको साम्नेगाउँका चुरामणी खनालका ४१ वर्षीय छोरा धनिस्वर खनालको वैशाख ६ गते सोमबार कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको थियो ।
साथै कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको गुडगाउँमा मृत्यु भएको थियो ।
यस्तै हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको भारतको कलकत्तामा निधन भएको थियो ।