डिभर्नाका १ जना युवा गाजियाबादमा मृत फेला, हत्याको आशंका | भारतमा २७ दिनको अवधीमा १३ जना अर्घाखाँचीबासीको निधन


अर्घाखाँचीडट्कम संवाददाता 
गाजियाबाद, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाका निम बहादुर थापका २२ वर्षीय छोरा पुरन थापा भारतको राजधानी दिल्ली नजिक उत्तर प्रदेशको गाजियाबादमा मृत फेला परेका छन्।
थापाको शव गाजियाबादको घुगना मोडस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो । 
मृतक पुरनको टाउकोमा चोट लागेर रगत निस्किएको जस्तो देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरिएको नेपाली जन सम्पर्क समिति उत्तर भारतकी अध्यक्ष सुनिता जीसी कुँवरले बताईने ।  हुनत पुलिसले कोठाका ढोकाहरु तोडेर शव निकाले पनि टाउकोको चोटका कारण हत्या भएको हुन सक्ने आशंका गर्नुभयो ।  
पुरन थापा घुगना मोडमा एक मदिरा पसलमा काम गर्दै आएका थिए । उनि लकडाउनका कारण घरमै बसिरहेका थिए ।
आफुले एक महिना अगाडी मात्रै श्रीमति र छोराछोरीलाई नेपाल पुऱ्याएर आएको र अब आफु पनि नेपाल जाने तयारीमा रहेको बताएको तर साँझ घर फर्किदासम्म कोठा भित्रबाट बन्द भएको भेटेपछि पुलिसलाई बोलाएर ढोका तोड्न लगाएको र कोठाभित्र पुरनको शव झुण्डिएको अवस्थामा फेला परेको भारतीय नागरिक रनबीर मौर्याले बताएका छन ।
पुरनको टाउकोमा चोटको निशान देखिएको बताइएको छ । नेजस उत्तर भारतका उपाध्यक्ष राजु कुँवरले आफुहरुले यस विषयमा पुलिससँग कुरा गरेको भन्दै कुँवरले चोटको निशानको खुलासा पोस्ट मार्टम रिपोर्टमा देखिने भन्दै त्यसपछि आफुहरु कानूनी लडाइ लडन पनि तयार रहेको बताए । 
प्रहरीले थापाको शवलाई पोष्टमार्टमका लागि स्थानिय अस्पताल लगेको छ । भने पोष्टमार्टम रिपोर्ट आएपछि निधनको कारण खुल्ले प्रहरीले बताएको छ । 
२७ दिनको अवधीमा १३ जनाको मृत्‍यु 
उता अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार तथा विवरण अनुसार योसँगै भारतमा गत चैत्र ३१ गते यता २७ दिनको अवधीमा विभिन्न कारणले १३ जनाको मृत्‍यु भएको छ ।
जसमा किमडाँडाको  खापडाँडाका २८ वर्षिय कृष्ण बिककाे दिल्लीमा कोरोना संक्रमणका कारण वैशाख २६ गते शनिबार निधन भएको थियो । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाका निम बहादुर थापका २२ वर्षीय छोरा पुरन थापा भारतको राजधानी दिल्ली नजिक उत्तर प्रदेशको गाजियाबादमा वैशाख २६ गते शनिबार मृत फेला परेका थिए ।
पाणिनी गाँउपालिका वार्ड नम्बर ४ पटौटीको कुडापानीका ४० वर्षिय थम्मन सिंह थापा छेत्रीको वैशाख १७ गते शुक्रबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
 मालारानी गाँउपालिका वार्ड नम्बर २ मरेङको रानीचौरका ५३ वर्षिय लाल बहादुर नेपालीको वैशाख २० गते सोमबार कोरोना संक्रमणका कारण उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्ली स्थित नोयडामा निधन भएको थियो  ।
मालारानी गाँउपालिका वार्ड नम्बर ५ बाँगीको कुजेरीका ४५ वर्षिय श्री किसन थापाको वैशाख २० गते सोमबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।    
शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडा हटियाका राम बहादुरका ३३ वर्षिय साईलो छोरा सुभास कुमारको गत वैशाख १७ गते शुक्रबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो । 
नुवाकोटको चिचौरका ३७ बर्षिय दिपक सुनारको गत वैशाख ११ गते शनिबार कोरोना संक्रमणका कारण उपचारको क्रममा नयाँ दिल्ली स्थित ग्रेटर कैलाशमा मृत्‍यु भएको थियो ।
यस्तै ढिकुराका भिम बहादुर सुनारका ३२ बर्षिय छोरा बिष्णु सुनारको वैशाख ११ गते शनिबार नै भारतको राजस्थानमा कोरोना संक्रमणबाट निधन भएको थियो  ।
साथै  २०७८ वैशाख ८ गते बुधवार मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय  छोरा विरेन्द्र खड्काको दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा निधन भएको थियो । 
यस्तै ढाकावाङको साम्नेगाउँका चुरामणी खनालका ४१ वर्षीय छोरा धनिस्वर खनालको वैशाख ६ गते सोमबार कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको थियो । 
साथै कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर  ३ धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको  गुडगाउँमा  मृत्‍यु भएको थियो । 
यस्तै  हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको भारतको कलकत्तामा निधन भएको थियो ।  

ढाकावाङका एक पुरुषको पन्जावमा निधन | भारतमा १७ दिनमा ५ जना अर्घाखाँचीबासीको निधन