राष्ट्रपतिद्धारा बिहीबारसम्म प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सोमबार संसद्‌मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनीतिक दलहरुसँग आह्वान गरेकी छन्।
उनले यसका लागि दलहरुलाई आगामी वैशाख ३० गतेसम्मको म्याद दिएकी छन्।
राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्तिमा ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ।
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम तीन वर्षअघि २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि राखेको प्रस्ताव पारित हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान गरेकी हुन्। देशसन्चारमा समाचार छ ।