नागरिकहरुको जिऊ-ज्यानको रक्षा गरौं, राष्ट्रिय जिम्मेवारी वहन गरौं !
बैशाख २९ गते, २०७८ मा प्रकाशित
श्रीकृष्ण भुसाल
हाल नेपालमा कोरोना भाईरसको दोश्रो लहरको संक्रमण दर तिब्र रुपमा बढेर केही समय उच्चतम बिन्दुमा स्थिर रहि बिस्तारै घट्ने लक्षण देखिएको छ । यति बेला गत २ हप्ता भित्रमा संक्रमित भएकाहरु मध्ये निको भएकाहरु (९९ प्रतिशत भन्दा बढी) र निको हुन नसकि मृत्युवरण गर्नेहरु (१ प्रतिशत भन्दा कम) दुबैको संख्या बढ्दो देखिएको छ । त्यसैले यतिबेला देखिएको मृत्यु हुनेहरुको संख्या निको हुनेहरुको संख्याको बढ्दो क्रम संगै उल्लेखनिय रुपमा घट्न धेरै समय लाग्ने छैन र महामारी बिस्तारै नियन्त्रणमा आउने छ भनी आशावादी हुन सकिन्छ । तर पनि जतिबेला पनि महामारी नियन्त्रण बाहिर जान सक्छ भन्ने ठानेर तदनुसार योजना बनाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो।
यस अवस्थामा राज्यले एकातिर संक्रमण दर आशातित रुपमा नियन्त्रण गर्न बन्दाबन्दीका साथै जनस्वस्थ्यका मापदण्ड कडाईका साथ लागू गर्न जनचेतना अभिवृद्धि गर्नु पर्ने हुन्छ भने अर्को तर्फ अस्पतालहरुमा अक्सिजनका साथै अत्यावश्यक औषधि र सैय्याहरु सहज रुपमा उपलब्ध हुने अवस्था सृजना गर्नु पर्छ । यसको लागि सबैको सहयोग र सहभागितामा सरकारले राज्यको सम्पूर्ण क्षमता एकीकृत गर्नु पर्ने हुन्छ ।
तयारी अवस्थामा रहि संचालन हुन नसकेका अस्पतालहरुमा सैय्याहरुको प्रवन्ध गरि संचालन गर्ने, चालू अवस्थाका अस्पतालहरुमा सम्भव भए सम्म सैय्याहरु थप गर्ने, ठुला होटल, विद्यालय र क्याम्पसहरुलाई अस्थायी अस्पतालमा रुपान्तरण गर्ने आदि काम युद्द स्तरमा तत्काल पूरा गरि स्वस्थ सेवाको सहज पहुंच स्थापित गर्न सकिन्छ ।
सैय्या हरुको उपलब्धताका अतिरिक्त अक्सिजनको निर्बाध उपलब्धता अहिलेको मुख्य चुनौतिको रुपमा देखिएकोले यसलाई तत्काल समाधान गर्न चालू उधोगहरु पुर्ण क्षमताका साथ पुरै सिफ्ट संचालन गर्ने, बन्द उधोगहरु आवश्यकता अनुसार मर्मत सम्भार गरि संचालनमा ल्याउने, थप प्लान्टहरु स्थापना गर्ने काम युद्द स्तरमा गर्नु का साथै आवश्यकता अनुसार अस्पतालहरुमा उपलब्ध गराउने जिम्मा नेपाली सेनालाई दिन सकिन्छ । साथै नपुग अक्सिजन अन्य देशबाट कुटनैतिक नियोगहरु मार्फत पहल गरि बिमान चार्टर गरेर तत्काल झिकाउनु पर्छ ।
अहिले अक्सिजन उत्पादन र आयातको क्षमता बढाउनु पर्ने आवश्यकता त छँदै छ त्यसका अतिरिक्त छरितो र भरपर्दो बितरण प्रणालिको बिकास गर्नु पर्ने चुनौतिलाई पनि सामना गर्नु पर्ने छ । अक्सिजन राख्ने सिलिण्डरको अभावले उत्पादित अक्सिजनलाई अस्पताल सम्म पुर्याउन कठिनाई भएकोले खाना पकाउने ग्यास ढुवानी गर्ने बुलेटहरुमा अक्सिजन राखी अस्पतालहरु मै लगेर सिलिन्डरमा भर्ने वा अस्पतालको बितरण प्रणाली मा जोड्ने प्रवन्ध गर्नु उपयुक्त हुन्छ । यसका अतिरिक्त कोरोना संक्रमणबाट हुने निमोनियाबाट जोगाउने रेम्डिसिभिर लगायतका औषधिहरुको निर्वाध उपलब्धताको लागि एक द्वार प्रणालीका आधारमा औषधि ब्यबस्था बिभागलाई जिम्मा लगाई निजि क्षेत्र समेतको सहभागितामा औषधिको उत्पादन, आपुर्ति र बितरणको न्यायोचित प्रवन्ध गर्नु पर्दछ ।
भौतिक साधन र श्रोतको उपलब्धताले मात्र समस्याको समाधान हुँदैन, उपलब्ध साधन र श्रोतलाई उच्चतम सुदुपयोग गर्दै संक्रमितहरुलाई सेवा प्रवाह गर्न थप जनशक्तिको समेत प्रवन्ध गर्नु पर्छ । यसकोलागी सेवानिवृत स्वास्थ्य कर्मी, अध्ययन पूरा गर्न लागेका विद्यार्थी र रोजगारीमा नभएका स्वस्थ्यकर्मी हरुलाई करार मा अनुबन्ध गरि काममा लगाउन सकिन्छ ।
यसरी राज्यले आफ्नो सम्पूर्ण शक्ति आफ्ना नागरिकको जिउ-ज्यानको सुरक्षा गर्न लगाउनु पर्ने बर्तमन अवस्थामा संघिय र प्रदेश सरकार कब्जा गर्ने अनुचित छिनाझपटी हुनु दु:खद अवस्था हो । त्यसैले राजनैतिक दाउपेचलाई तत्काल स्थगित गरि राज्यका सम्पूर्ण निकायका अतिरिक्त सम्पूर्ण राजनैतिक दल र निजि क्षेत्रलाई समेत एकीकृत रुपमा परिचालन गरि अहिलेको महामारी माथी बिजय हासिल गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो । यो जिम्मेवारीलाई परिपुर्ती गर्न आवश्यकता अनुसार जन-स्वास्थ्य संकटकाल लगाएर भए पनि स्थितिलाई नियन्त्रण गर्न सरकारले तत्काल पहलकदमी लिनु आवश्यक देखिन्छ ।