काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनीयताको शपथ त्रुटिपूर्ण भएको भन्दै त्यसलाई सच्याउन फेरि शपथ लिनुपर्ने आवाज उठेको छ।
शुक्रबार शीतल निवासमा प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन्। राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ भन्न लगाए पनि प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई निर्देशन दिएका थिए। त्यसपछि खिस्स हाँसेर राष्ट्रपतिले प्रधानमन्त्रीकाे आदेश पालना गर्दै शपथ अगाडि बढाएकी थिइन्। जसको अहिले सर्वत्र आलोचना भइरहेको छ।
संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्यविरूद्धको अपराध गरेको दाबी गरेका छन्। उनले तत्काल संसदको विशेष अधिवेशन आह्वान गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।
संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्यविरूद्धको अपराध रहेको आचार्यले बताएका छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको शपथ समारोह फेरि आयोजना गर्न माग गरेका छन्।
उनले भनेका छन्, ‘ प्रधानमन्त्रीको शपथ त्रुटिपूर्ण छ। संक्षिप्त कार्यक्रम गरेर पुनः शपथ लिनु उपयुक्त हुनेछ। राष्ट्रपतिज्यूले यसबारे ध्यान दिनु बेश हुनेछ।’ देशसन्चारमा समाचार छ ।