अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य बिहिवारदेखि शुरु हुने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य बिहिवारदेखि शुरु हुने भएको छ । 
जिल्ला अस्पताल अर्घाखाँचीका अध्यक्षमा श्रीकृष्ण भुसालले दिएको जानकारी अनुसार अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य बिहिवारदेखि  अर्थात २ दिनमा शुरु हुने भएको हो ।  
अर्घाखाँचीमा १ अक्सिजन प्लान्ट निर्माणाधीन रहेको त आर्थिक अभावका कारणले पुरा हुन सकेको छैन् ।   
अस्पतालमा अक्सिजन प्लान्ट राख्ने योजनाका लागि भुसालले सबैलाई आर्थिक सहयोग गर्न आह्वान पनि गरेका छन् । तर उनले कुन स्रोतबाट अक्सिजन प्लान्ट निर्माण कार्य शुरु गरिने भन्ने जानकारी दिएनन् । नगरपालिका र गाउँपालिकाले अहिलेसम्म सो योजनाको लागि आर्थिक सहयोग गर्नबाट पछाडि हटेका छन् ।  अक्सिजन प्लान्ट रु ७५ लाख लगानीमा निर्माण गर्न सकिने बताइएको छ ।  
उता हिजो आईतबार अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजनको  आपूर्ति गर्न कठिनाई भएको बेला उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री  टोपबहादुर रायमाझीले छिटोभन्दा छिटो अत्याधुनिक अक्सिजन प्लान्ट निर्माणका लागि सबै तहमा पहल शुरु गरेको बताएका थिए ।  
निजी सचीव नारायण खत्रीले अर्घाखाँचीडट्कम जानकारी गराए अनुसार “सबै तहमा छलफल सकिएकाे र  सरकारी  तहबाट दिर्घकालकाे लागि ठुलाे अक्सिजन प्लान्ट स्थापना गर्ने तथा तत्काल मध्यम स्तरकाे जडान गर्न बिज्ञ मार्फत सुझाव आएकाे छ।” 
यस्तै खत्रीले भने; “हामी  सबै सुझाव मध्यनजर गरेर प्रक्रिया अगाडी बढाईएकाे छ । प्राविधिक तथा आर्थिक पक्षलाई मध्यनजर गरेर अघाडी बढने तयारी सहित प्रक्रिया अघाडि बढाईएकाे छ । माननिय ज्यूकाे काेभिड १९ व्यवस्थापनमा उच्च चासो र प्रयत्न भएकाे छ । स्वास्थ्य मन्त्रालय अर्थ मन्त्रालयसँग समन्वय भईरहेकाे छ।” प्रयास भएकाे छ सफल भए अर्घाखाँचीलाई प्रयाप्त अक्सिजन हुनेछ, छिटोभन्दा छिटो जडान गरि सन्चालन हुनेछ, उनले बताए । 
उता रायमाझीले गत वैशाख २९ गते बुधवार जिल्लालाई अक्सिजन सिलिण्डर सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका थिए । साथै पुन: जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउन पहल भईरहेको बताइएको छ ।
यस्तै जिल्ला अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु बुटवलमा रिफिल गर्दै ल्याइएको छ । अर्घाखाँची जिल्ला अस्पतालमा अहिले २५ जना संक्रमितमा २३ जनालाई अक्सिजन दिईएको छ ।