लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका छ वटै स्थानियतहको सक्रियतामा सदरमुकाम सन्धिखर्कमा ‘अक्सिजन प्लान्ट’ बन्ने भएको छ ।
देशैभर अक्सिजनको अभाव भईरहेका बेला जिल्लामै अक्सिजन प्लान्ट हुँदा अक्सिजन अभाव नहुने निष्कर्ष निकाल्दै अर्घाखाँचीका छ वटै पालिकाले सक्रियता देखाएका हुन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा बसेको छ वटै पालिका प्रमुख सहितको बैठकले अक्सिजन अभावमा कसैले ज्यान गुमाउने अवस्था आउन नदिन सन्धिखर्कमा ‘अक्सिजन प्लान्ट’ निर्माण गर्ने सहमती भएको छत्रदेव गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।
पहिलो चरणमा छ वटै पालिकाले १०-१० लाख रुपैया विनियोजन गर्ने भएका छन् । सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालको संयोजकत्वमा समिति गठन गरी त्यस मार्फत आवश्यक सबै तयारी गरिने छ । पहिलो चरणमा १०-१० लाख विनियोजन गरिने र त्यसपछी आवश्यक रकम विनियोजन गर्दै जाने सहमती भएको भुमिकास्थानका मेयर रेशम थापाले बताए । ‘अर्थ मन्त्रालय मार्फत रकम आउँदै छ, उनले भने,’त्यो आयो भने आयो, आएन भने हामिले भएपनी बनाउनु पर्छ भन्ने सहमती भएको छ ।’ जसरी भएपनी नागरिकको जिवनरक्षा आफुहरुको पहिलो दायित्व भएको उनले बताए ।
अर्घाखाँची जिल्ला अस्पताल वा नगरपालिकाको औद्योगिकग्रामको स्थान हेरेर तय गरिने भएको छ । सन्धिखर्क नगरपालिकाको सभाहलमा सन्धिखर्कका प्रमुख कमलप्रसाद भुसाल, सितगंगाका प्रमुख सुर्यप्रसाद अधिकारी, भुमिकास्थानका प्रमुख रेशम थापा, पाणिनीका अध्यक्ष अच्युत गौतम, मालारानीका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेवका अध्यक्ष लेखनाथ पोख्रेल, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम, अस्पताल विकास समितिका अध्यक्ष श्रिकृष्ण भुसाल, नगरपालिकाका शाखा अधिकृत मन्जु खनाल, नेकपा एमालेका लिला बिक, नेपाली कांग्रेसका बिष्णु भुसाल, माओवादी केन्द्रका राजेन्द्र भुसाल लगायत सरोकारवालाको सहभाागिता रहेको थियो ।
सन्धिखर्कका नगरप्रमुख कमलप्रसाद भुसालका अनुसार भोलिदेखि नै अक्सिजन प्लान्ट राख्ने गरि प्रकिया अगाडि बढाईने छ ।