दिपक भुसाल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजनको आपूर्ति गर्न कठिनाई भएको बेला अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट रु १ करोड ५० लाख विनियोजन भएको छ ।
अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीको पहलमा अर्थ मन्त्रालयबाट मंगलवार रु १ करोड ५० लाख विनियोजन भएको हो ।
यस्तै जिल्लाका ६ पालिकाले पहिलो चरणमा १०-१० लाख रुपैया विनियोजन गर्ने भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा बसेको छ वटै पालिका प्रमुख सहितको बैठकले उक्त निर्यण गरेको हो ।
उता जिल्ला अस्पतालमा अत्याधुनिक अक्सिजन प्लान्ट निर्माण कार्य बिहिवारदेखि शुरु गर्ने तयारी भएको छ ।
निजी सचीव नारायण खत्रीले अर्घाखाँचीडट्कम जानकारी गराए अनुसार “अर्थ मन्त्रालयबाट उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट बिकास तर्फ बिभिन्न याेजनामा बजेट बिनियाेजन गरिएको र अस्पतालमा अक्सिजन प्लान्ट तथा अन्य पुर्वाधार निर्माणमा प्रयाप्त रकम विनियोजन भएको हो ।” छिटोभन्दा छिटो जडान गरि सन्चालन हुनेछ – अर्घाखाँचीलाई प्रयाप्त अक्सिजन हुनेछ, उनले बताए ।
उता रायमाझीले गत वैशाख २९ गते बुधवार जिल्लालाई अक्सिजन सिलिण्डर सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका थिए । साथै पुन: जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउन पहल भईरहेको बताइएको छ ।
यस्तै जिल्ला अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु बुटवलमा रिफिल गर्दै ल्याइएको छ । यसको लागि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय चेतनारायण आचार्यले समन्वय गरेका छन् ।