अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्दैछ ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। जसमा कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र नेकपा एमालेका तर्फबाट जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका छन् ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए ।
उता जेठ १७ गते हुने उपनिर्वाचनमा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का पराजित हुने निश्चित देखिएको छ । मतान्तर विश्लेषण गर्दा खड्काको पक्षमा ३५२८ र पाण्डे पक्षमा ४१३४ कुल मत रहेको देखिन्छ । जसमा विभिन्न राजनीतिक पार्टीका जनप्रतिनिधिहरुको मतभार विश्लेषण गर्दा खड्काको भन्दा पान्डेको मतभार ४१३४ – ३५२८ = ६०६ मतले बढी देखिन्छ । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित पाण्डेले केही समयअघि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुको मतान्तर खाँचीकोटका निरज भट्टराईले यसरी विश्लेषण गरेका छन् :-
खड्काको पक्षमा मतभार
नेकपा एमाले प्रदेश सभा सदस्य: ३९ x ४८ =१८७२
एमाले स्थानीय तह: ९० x १८ =१६२०
राप्रपा स्थानिय तह : २ x १८ = ३६
कुल मतभार (जम्मा ) = ३५२८
पान्डेको पक्षमा मतभार
नेपाली कांग्रेस प्रदेश साम्सद : १९ x ४८ = ९१२
नेकपा माओवादी केन्द्र प्रदेश सदस्य: १८ x ४८ = ८६४
जसपा प्रदेश सदस्य: २ x ४८ = ९६
राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य : १ x ४८ = ४८
नेपाली कांग्रेस स्थानीय तह : ६६ x १८=११८८
नेकपा माओवादी केन्द्र स्थानीय तह : ४१ x १८ = ७३८
जसपा स्थानीय तह : ११ x १८ = १९८
राष्ट्रिय जनमोर्चा स्थानीय तह : ५ x १८ = ९०
कुल मतभार (जम्मा) : ४१३४
गणितीय हिसाबले खड्का भन्दा पान्डेको अवस्था मजबुत देखिन्छ तर गोप्य मतदान, मतदाताको खरिद बिक्री, नेकपा फुटसँगै माओवादी केन्द्रमा परेको राजनीतिक असर आदिका कारण नतिजा यसैको कोल्टामा जान्छ भनी सिधै आकलन गर्न नसकिने बताइएको छ ।
विभिन्न राजनीतिक पार्टीका जनप्रतिनिधिहरुको मतभार विश्लेषण गर्दा खड्काको भन्दा पान्डेको मतभार ४१३४ – ३५२८ = ६०६ ले बढी देखिन्छ । यो बाहेक चार जना स्वतन्त्र रुपमा निर्वाचित स्थानिय प्रतिनिधिहरुको ७२ मतभारलाई भने यहाँ समाबेश गरिएको छैन अर्को तिर जसपाबाट निलम्बित चार प्रदेश सदस्यलाई सर्वोच्च अदालतले बदर गरि पुर्न स्थापित गरि सकेको छ तर उनीहरुको नाम मतदाता सुचीबाट हटाइएको छ । यस बिषयमा फेरि सर्वोच्च अदालतले उनिहरुलाई मताधिकारबाट बन्चित गराउन नपाइने भनी फैसला सुनाइदियो भने १९६ मतभार खड्काको पक्षमा थपिन सक्ने र मतान्तर अझ घटी ४१० मात्र रहने सम्भावना पनि देखिन्छ ।
उक्त मतान्तरलाई अझ कम गर्न यहाँ राजनैतिक रुपमा धेरै चलखेल हुन सक्दछ । राजनीतिका माहिर खेलाडी मानिएका केपी ओली प्रधानमन्त्री छन् । उनिबाट जस्तोसुकै रणनीति तय हुन सक्दछ, स्वतन्त्र सांसदको ७२ मतभार खड्काको पक्षमा आउन सक्दछ। खुल्ला मतदानमा समेत मतदाताको खरिद बिक्री हुन्छ भने यो त गोप्य मतदान हो । त्यसो पनि नहोला भन्न सकिदैन् । अर्को तिर नेकपा बिभाजनसँगै ओली पक्षमा लागेका पुर्व माओबादीलाई नेकपा माओवादीले कार्वाही गरि नसकेको हुँदा ४१ स्थानीय तहको सबै जनप्रतिनिधिको भोट पान्डेको पक्षमा नै पर्छ भन्न पनि सकिदैन् । केन्द्रिय तहबाट जबर्जस्त गरिएको गठबन्धन जनप्रतिनिधिलाई चित्त नबुझ्न सक्दछ त्यसैले गण्डकी प्रदेशमा जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाको जस्तै केही बामपंथी पक्षधर जनप्रतिनिधिहरु निर्वाचनमा उपस्थित नहुने, उपस्थित भए पनि रद्ध गर्ने वा खड्कालाई नै भोट दिने सम्भावना पनि देखिन्छ । त्यसै गरि लुम्बिनी प्रदेशमा प्रदेश सभामा भएको जसपा बिभाजनको सानो असर स्थानिय जनप्रतिनिधिमा पनि पर्न सक्दछ । यी आदि कुराहरुलाई विश्लेषण गर्दा गणितीय रुपमा पान्डेको जित सुनिश्चित रहेतापनी वास्तविक रुपमा चुनौतीपूर्ण नै देखिन्छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदानका जेठ १७ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मकाे समय निर्धारण गरिएको छ ।