प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी ५ दल सोमबारमात्रै सर्वोच्च जाने, एमालेबाट २० जना सांसदको हस्ताक्षर


राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी ५ दलको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।
काठमाडौँ– सांसदहरुको हस्ताक्षर संकलन कार्य जारी रहेकाले विपक्षी गठबन्धन संसद विघटनविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालत जाने भएको छ।
नेकपा एमालेकी सांसद सरला यादवका अनुसार केही सांसदहरु आउनेक्रम जारी रहेकाले भोली मात्रै संसद पुनःस्थापनाको मागसहित रिट हाल्न सर्वोच्च जाने निर्णय भएको हो।
उनले नेकपा एमालेका तर्फबाट हालसम्म २० जना सांसदले रिटका लागि हस्ताक्षर गरिसकेको बताइन्। उनले भनिन,‘हस्ताक्षर गर्न चाहेका केही सांसद आउनु भएको छैन। कोही बाहिर हुनुहुन्छ। कोही बिरामी पर्नु भएको छ।’
ती दलका सांसदहरूसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, दुर्गा पौडेल लगायत नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार भेला भए । दलहरूले छुट्टाछुट्टै रूपमा हस्ताक्षर संकलन र नागरिकताको फोटोकपी संकलन गरेर संयुक्त रूपमा नयाँ बानेश्वरमा जम्मा भएका हुन् ।
रिटका लागि प्रतिपक्ष नेपाली काँग्रेस, माओवादी केन्द्रले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। नेपालपक्षसँगै यी दलका सबै सांसदहरुको हस्ताक्षरसहित नेताहरु सोमबार बिहान १० बजे जाने भएका हुन्। देशसन्चारमा समाचार छ ।