अर्घाखाँचीमा जुलुश, प्रदर्शन हुन सक्ने भन्दै निषेधाज्ञालाई कडाई गरिने | अटेर गरे १ वर्ष जेल


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निषेधाज्ञालाई कडाई गरिने भएको छ ।
गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सुरक्षा प्रमुखहरूलाई दिएको निर्देशन अनुसार “विकशित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि निषेधाज्ञालाई कडाई गरिने भएको हो।”
राजनीतिक घटनाक्रम अनुसार जुलुश, प्रदर्शन हुन सक्ने भन्दै निषेधाज्ञालाई कडाई गरिने भएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई गृहमन्त्रालयले गरेको परिपत्र अनुसार निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था गरिएको छ । भीडभाडलाई पूर्ण निष्तेज गरिएकाले प्रशासन त्यसमा सक्रिय रहने छ ।
अध्यादेश बमोजिम दिइएको आदेश उल्लंघन गरे प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्नेछन् । व्यक्तिले उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, संस्थाले उल्लंघन गरेमा पाँच लाखसम्म जरिवाना गर्न गरिने व्यवस्था गरिएको छ ।  
मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकैपिच्छे एक सय, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमतिबिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्न प्रहरीले सक्नेछन् ।
अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले छ महिनासम्म बन्द गरिदिन पनि सक्ने छन् ।