अर्घाखाँचीका चन्द्रबहादुर खड्का अन्तत: लुम्बिनी प्रदेशको राष्टिय सभा उपनिर्वाचनमा पराजित


अर्घाखाँचीडट्कम संवाददाता 
दाङ  (अर्घाखाँचीडट्कम) । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा चन्द्रबहादुर खड्का पराजित भएका छन् ।
उपनिर्वाचनमा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का पराजित भएका हुन् । भने विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका छन् ।  पाण्डेयले  खड्कालाई ५४६ मतभारले हराएका हुन्।
पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाएका छन् ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए । 
यस्तै कांग्रेस उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जसपाको भट्टराई–यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
 पाण्डे गत १९ वैशाखमा एमाले र लुम्बिनी प्रदेश सभा सदस्य छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर विद्रोह गरेका थिए । 
आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।
२११ मतमध्ये  पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार  खड्काले ९३ मत ल्याए।   
प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो।  पाण्डेले ४२ मत पाएका थिए भने खड्काले  ४० मत ल्याएका थिए।