अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क, चुत्राबेसी लगायत जिल्लाका ३ स्थानिय तहमा निषेधाज्ञाको मौका छोपेर व्यापारीहरुले दैनिक उपभोग्य तथा अन्य सामाग्रीहरु दोब्बर महँगो मुल्यमा बेच्दा सेवाग्राहीहरु ठुलो मर्कामा परेका छन् ।
अमराई । फाइल तस्बिर
जिल्लाको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका व्यापारीहरुले निषेधाज्ञाको मौका छोपेर दैनिक उपभोग्य तथा अन्य सामाग्रीहरु दोब्बर महँगो मुल्यमा बेच्दा सेवाग्राहीहरु ठुलो मर्कामा परेका हुन् ।
जिल्लाभर चिनी, दाल, खानेतेल, चामल, अण्डा, गेडागुडीलगायतका खाद्यवस्तुको बाहिरबाट आउन छोड्यो भन्दै दोब्बर महँगो भाउमा बेचेको गुनासोहरु स्थानियबासीहरुले गरेका छन् ।
निषेधाज्ञा गरेपछि सम्बन्धित निकायबाट बजार अनुगमन नहुँदा भाउ महँगो भएको उपभोक्ताहरुले बताएका छन् ।
मालारानी गाउँपालिकाले कारबाही गर्ने
यस्तै मालारानी गाउँपालिकाले दैनिक उपभोग्य तथा अन्य सामाग्रीहरु दोब्बर मुल्यमा बेच्ने व्यापारीहरुले कारबाही गर्ने चेतावनी दिएको छ ।
गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै दैनिक उपभोग्य तथा अन्य सामाग्रीहरु महँगो मुल्यमा बेचेको गुनासोहरु आएको र कसैले तोकिएको दर भन्दा बढी मुल्य लिएमा हदसम्म कारबाही गर्ने चेतावनी दिएको हो ।
उता जिल्लाभर अधिकांस किराना पसलहरुले मुल्य सुचीनै नराखिकनै दैनिक उपभोग्य सामाग्रीहरु बिक्री बिरतण गरेको देखिन्छ । भने व्यापारीहरुले निषेधाज्ञाको नाममा समस्या देखाएर उपभोग्य सामाग्रीहरु लुकाएर महँगो मुल्यमा बेच्ने गरेको गुनासो जिल्लाबासीको रहेको छ ।
जनजीवन अत्यन्त कष्टकर
यस्तै गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । भने लामो समय व्यापार बन्द हुँदा भाडा तिर्न नसक्ने अवस्थामा पुगेको व्यापारीहरुले बताएका छन् ।