वीरेन्द्र केसी कान्तिपुर
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सरकारले वार्षिक १८ अर्ब नियमित बजेट उपलब्ध गराएमा सात वर्षभित्र २ सय ८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चैतको अन्तिमतिर उद्घाटन भएको अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ ( साविक जलुके-२) मा पर्ने नौमुरे जलविद्युत्को काम अघि बढ्न सकेको छैन । तामझामका साथ घर भाडामा लिएर तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेको नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय अहिले बन्द रहेको छ ।
प्यूठानसँग सीमा जोडिएको अर्घाखाँची शीतगंगा नगरपालिका–७, लामातालमा कार्यालय राखेर काम सुरु गर्न लाग्दा कोभिड–१९ का कारण रोकिएको हो । यस आर्थिक वर्ष नौमुरको अध्ययन, जग्गा खरिद, डुबान क्षेत्र छुट्याउनेलगायतका काम गर्ने लक्ष्य थियो । त्यसका लागि आवश्यक बजेट विनियोजन भएको थियो । ‘कोभिड–१९ का कारण फिल्डमा गएर काम गर्न सकिएन,’ विद्युत् विभाग विकासका महानिर्देशक नवीनराज सिंहले भने, ‘स्टिमेटलगायतका काम काठमाडौंमै बसेर गरेका छौं । फिल्डमा गएर गर्ने काम कोरोनाले सकिएन ।’ विभागका अनुसार एक जना परियोजना संयोजक, एक आयोजना प्रमुख, चार इन्जिनियरसहित आठ जना कर्मचारीलाई काम गर्न पठाउने तयारी थियो । विभागबाट कोही कर्मचारी अहिले नौमुरेमा छैनन् । स्थानीय एक जना कार्यालय सहयोगी पनि बिरामी छन् ।
यस आर्थिक वर्षभित्र कार्यालय भवनको जग्गा छनोट, डुबान क्षेत्र, प्यूठान र अर्घाखाँचीमा पर्ने चार/पाँचवटा रोडलाई बाह्रै महिना चल्ने बनाउने लक्ष्य थियो । ‘नौमुरे आसपासका अन्य ठाउँमा जग्गाको लगत संकलन गरी खरिद प्रक्रिया अघि बढाउने र लामातालमा जग्गा छनोटको काम गर्ने योजना रहेको थियो, लामातालमा रोड डिजाइन सर्भेलगायत सबै काम रोकियो,’ विभागका सीडीई गोपीप्रसाद साहले भने ।
२०४४ सालमा तत्कालीन सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट क्षमताको विद्युत् निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो । अहिले २ सय ८१ मेगावाट निकालिनेछ । नौमुरे बाँधमा २ सय १८, त्यसदेखि तल पानी स्टोर गरेर लामातालमा ८ मेगावाट र कपिलवस्तु पानी लैजाँदै गर्दा भर्टिकल गरेर ५५ मेगावाट विद्युत् निकाल्न सकिने योजना रहेको उनले सुनाए ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा नौमुरेलाई सम्बोधन गरेपछि स्थानीयमा खुसियाली छाएको छ । ‘कार्यालय उद्घाटनपछि नौमुरेमा कुनै काम भएको छैन, अफिस पनि बन्द छ,’ शीतगंगा नगरपालिका–७ का वडाध्यक्ष मोहनप्रसाद पन्थीले भने, ‘नौमुरे विस्तृत सर्भे गर्ने भनेर यसभन्दा अघिका बजेट भाषणमा पनि सम्बोधन भएको हो । तर, काम भएको छैन ।