एमाले नेता टोपबहादुर रायमाझीद्धारा आफु माओवादीमा नफर्किने स्पष्ट, प्रचण्डलाई गम्भिर आरोप लगाए (विज्ञप्ती सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं (अर्घाखाँचीडट्कम) । नेकपा एमाले स्थायी कमिटी  सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफुलाई नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएको समाचारको खण्डन गरेका छन् । 
रायमाझीले आफुलाई नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएको समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको बताएका हुन् । 
यस्तै रायमाझीले प्रचण्डमा कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरण रहेको भन्दै गम्भिर आरोप पनि लगाएका छन् ।  
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै रायमाझीले भनेका छन्; ” प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस(देउबा)को शरणागतमा पुगेको स्थिति रहेको भन्दै कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यंत्रपूर्ण झांसामा नआउन सम्पूर्ण अपिल गरेका छन् । 
केही अन्लाईन मिडियाहरुमा टोपबहादुर रायमाझी गैरसांसद भएर पनि मन्त्री बनेको पद सर्वोच्च अदालतले खोसिदिएपछि ‘घर न घाट’को अवस्थामा पुगेका छन्, माओवादीमा फर्कने मन भन्दै समाचार आएको थियो । 
उता गत २०७८ ज्येष्ठ ६ गते विहीवार रायमाझीको पद संविधान र कानुन विपरीत भन्दै सर्वोच्च अदालतले  खारेज गरिदिएको थियो ।  
यस्तो छ प्रेस विज्ञप्ती:- 
मिति:२०७८/०२/२४
                     प्रेस विज्ञप्ती 
पछिल्लो समय केहि सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस(देउबा)को शरणागतमा पुगेको स्थिति छ ।
सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यंत्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ ।
क. टोप बहादुर रायमाझी
नेकपा एमाले स्थायी कमिटी  सदस्य