सन्धिखर्क नगरपालिकाका ११४ जना कृषकले २ देखि ३ % ब्याजदरमा ऋण पाउने


अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका ११४ जना कृषकले सुलभ सहुलियत कृषि कर्जा पाउने भएका छन् ।   
सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको हो ।
सन्धिखर्क नगरपालिकाले बुधवार सुलभ सहुलियत कृषि कर्जा कार्यक्रम सञ्चालन कार्यविधि  -२०७७ बमोजिम ११४ जनालाई १ लाखदेखि ३ लाखसम्म ऋण दिने गरि नेपाल बैंकलाई कार्यन्वनका लागि प्रक्रिया अगाडि बढाउन लगाउने निर्यण गरेको छ । 
व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच गत २०७७ फागुन १९ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृषि पेशामा आवद्ध गराई समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख भुसालले बताए ।
कृषि पेशा गर्नेलाई बिनाधितो कर्जा प्रवाह गर्न कुनै पनि प्रकारको शुल्क नलाग्ने, ब्याजदर पनि दुईदेखि तीन प्रतिशतको हाराहारीमा रहने बताइएको छ । 
सन्धिखर्क नगरपालिकाको रु ७५ लाख र नेपाल बैंक लिमिटेडको रु ७५ लाख गरी रु एक करोड ५० लाख कृषि पेशा गर्ने युवालाई रु एक लाखदेखि तीन लाखसम्म सुलभ कर्जा प्रदान गरिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालको भनाई छ । 
कोभिडको कारणबाट स्वदेश फर्किएका, हातमा सीप, श्रम र क्षमतावान युवालाई कर्जामा पहुँच पुर्‍याउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले बताएको छ । नागरिकमा वित्तीय पहुँच पुर्‍याउने, पैसा नभएर उद्यमशील हुन नसकेका र वित्तीय पहुँच नभएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको छ । 

अन्य समाचारहरु