प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको लागि नेपाली कांग्रेसका नेता तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर मुक्ति श्रेष्ठले २५ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोरोना रोगको महामारीबाट जिल्लामा बिरामीको संख्या बढ्न थालेपछि कांग्रेस महाधिवेसन प्रतिनिधि तथा चिकित्सक संघका पूर्वअध्यक्ष श्रेष्ठले १२ वटा अक्सिजन कन्सेन्ट्रेटर मेसिन , मास्क, स्यानीटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
तीन गाउँपालिका र तीन नगरपालिका गरी ६ वटा स्थानीय तह रहेको जिल्लाका ६ वटा स्थानीय तहलाई २ वटा अक्सिजन कन्सेन्ट्रेटर मेसिनका दरले १२ वटा अक्सिजन कन्सेन्ट्रेटर मेसिन प्रदान गरिएको नेता श्रेष्ठले बताए । स्थानीय सरकारले निर्माण गरेको कोभिड अस्पतालमा अक्सिजनको कमी हुन नदिन र बिरामीको उपचारका लागि सहजता होस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको उनको भनाइ छ ।
डाक्टर श्रेष्ठले पठाएका स्वास्थ्य सामग्री प्रत्येक पालिकामा पुगेर हस्तान्तरण गरिने नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले बताए । शुक्रबार सन्धिखर्क नगरपालिकामा रहेको अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
एक कार्यक्रमका बीच नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), निवर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमाल प्रसाद भुसाल, उपसभापति शान्ता भण्डारीलगायतका कांग्रेस नेताहरुले अर्घाखाँची अस्पतालका डाक्टर सन्तोष न्यौपानेलाई हस्तान्तरण गरेका हुन्।
सामाजिक अभियन्ता सचिन पाण्डेले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य केसव श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतको सहभागिता रहेको थियो ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका घर भएका डाक्टर मुक्ति श्रेष्ठले काठमाडौंमा बसेर अर्घाखाँचीबाट उपचारका लागि जिल्ला बाहिर बुटबल, चितवन, पोखरा तथा काठमाण्डौमा जाने विरामीहरुको सेवा गरिरहेका छन् । जिल्लाबासीलाई जुनसुकै समस्या परेको बेलामा पनि उनले सहयोग गर्दै आएका छन् ।