अर्घाखाँचीमा आजदेखि निषेधाज्ञा खुकुलो | बजार खुले


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।  सन्धिखर्क, चुत्राबेसी बजारमा आत्यवाश्यक खाद्यान्न, तरकारी, किराना पसल लगायत खुलेका छन् । 
पछिल्लोपटक डिसिसिएमसी अर्घाखाँचीको बैठकले केही खुकुलो गरी पाँचौ पटक असार ७ गते सोमबार राती १२ बजेसम्म केही परिमार्जनसहित निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो, जुन आदेखि कार्यान्वयनमा आएको छ।
आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल,  कृषि भेटेनरी पसलहरू,  निर्माण सामग्रीका पसलहरू, वर्कसपहरू विहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइन्छ। यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु मापदण्ड पालना गरेर न्युनतम कर्मचारी राखि खोल्न दिईने भएको छ ।     
विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ।
एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन।
यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।   
जारी निषेधाज्ञाका कारण जिल्ला डेढ महिनादेखि ठप्प छ ।  यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । 
यस्तै जिल्लाको सन्धिखर्क, चुत्राबेसी लगायत जिल्लाका ३ स्थानिय तहमा निषेधाज्ञाको मौका छोपेर व्यापारीहरुले दैनिक उपभोग्य तथा अन्य सामाग्रीहरु दोब्बर महँगो मुल्यमा बेच्दा सेवाग्राहीहरु ठुलो मर्कामा परेका बताइएको थियो । 
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । भने लामो समय व्यापार बन्द हुँदा भाडा तिर्न नसक्ने अवस्थामा पुगेको व्यापारीहरुले बताएका थिए ।  
डिसिसिएमसी अर्घाखाँचीको निर्यणहरु: 
१) निषेधाज्ञा अवधिभर अत्यावस्यक काम बाहेक कोही पनि व्यक्ति घरबाहिर ननिस्किने ।   
२) औषधि पसल एवम् स्वास्थ्य सामग्रीका पसलहरू २४ घण्टा खुल्ने। नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी विभिन्न वस्तु तथा सेवा खरिद तथा बिक्री गर्ने पसलहरू बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने।
३) विद्यालय, क्याम्पस, शिक्षालय, तालिम केन्द्र, पार्टी प्यालेस, होटल तथा रेष्टुरेण्ट, जिम हल, ब्युटी पार्लर र शैलुन बन्द रहने।    
४) सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार, जात्रा, महोत्सव र खेलकुद सन्चालन नगर्ने।
५) मठमन्दिर तथा विभिन्न धार्मिक स्थलहरूमा परम्परागत रूपमा गरिने नित्य पुजा बाहेक अन्य सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू बन्द गर्ने।
६) एम्बुलेन्स, दमकल, सवबाहन, अत्यावस्यक खाद्य सामग्री, तथा  पशुपंछीका दाना, अण्डा, दुध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरू, चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरू, औषधि तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरू, क्वारेन्टाइन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारी साधन, प्रेस पास तथा परिचयपत्र वाहक संचारक्रमीहरूले प्रयोग गरेका सवारी साधन हरू बाहेक अन्य सबै निजी तथा सार्वजनिक यातायातका साधनहरू सन्चालनमा रोक लगाउने।
७)जिल्लास्थित सरकारी, सार्वजनिक वा गैरसरकारी कार्यालयबाट प्रदान गरिने अत्यावस्यक सेवा (स्वास्थ्य, संचार, विद्युत्, खानेपानी, सुरक्षा) बाहेक अन्य सबै कार्यालयबाट प्रदान गर्ने सेवा बन्द गरी न्यूनतम् कर्मचारीको उपस्थितिमा आलोपालो पद्धतिअनुसार आन्तरिक व्यवस्थापनका कार्यहरू गर्ने।
८) बैङ्क तथा वित्तीय कारोबार गर्ने संस्थाहरूले स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गरी न्यूनतम् कर्मचारीको उपस्थितिमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने।
९) कामदारलाई निर्माण स्थलमै बस्ने व्यवस्था मिलाई विकास निर्माणका कामलाई सुचारू गर्ने।
१०) अत्यावस्यक कामको लागि मात्र सवारी पास जारी गरिने।
११) यस आदेशको उल्लंघन गर्ने, आदेशको पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधि, औषधिजन्य सामाग्री, अत्यावस्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कारबाही हुनेछ।
 पुनश्च: यो आदेशको पालना गर्नु गराउनु सबैको कर्तव्य हुनेछ। यो आदेशको प्रतिकूल कार्य गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा भन्दा कडा कारवाही गरिने छ।