विक्रम आचार्य
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा हाते ट्याक्टर (मिनी टिलर) बितरण कार्यक्रम सम्पन्न भएको छ ।
शितगंगा नगरपालिकाले आज एक कार्यक्रमका बिच मेयर सूर्य प्रसाद अधिकारी उपमेयर टिका रेश्मीको हातबाट कृषकलाई ५० वटा खेतबारी जोत्ने आधुनिक उपकरण (मिनी टिलर) वितरण गरेको छ ।
यान्त्रीकीकरण मार्फत कृषि पेशालाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले आर्थिक बर्ष २०७७/०७८ को प्रदेश सरकारको साना कृषि यन्त्र उपकरण, अनुदान कार्यक्रम अन्तरगत कृषि समुह, कृषि सहकारी, कृषि फमहरूलाई ५०% अनुदानमा मिनी टिलर वितरण गरिएको छ । ५०मिनी टिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख अनील शर्माले रातो प्रेस लाई बताउनु भयो । यस अघि सो उपकरण खरिदका लागि अनुदान नपाएकालाई पहिलो प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
गोरु पाल्न नपर्ने, छिटो काम हुने र कम लागत पर्ने भएकाले पछिल्लो समय शितगंगाका कृषकले खनजोतका लागि मिनी टिलरको प्रयोग गर्न थालेका हुन् । गोरुले तीन दिनमा जोत्ने खेतबारी मिनी टिलरले एकै दिनमा सकिने शितगंगा ६ फेदि फाटका कृषक मुकुन्द पौडेलले बताउनुभयो ।
मिनी टिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा कृषकलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा मिनी टिलरमा सामान्य समस्या आउँदासमेत बोकेर अमराई बजारमा ल्याउनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।