अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोली असार १५ गतेसम्म जारी निषेधाज्ञा सातौ पटक पुन: निषेधाज्ञा थपिने भएको छ।
डिसिसिएमसी अर्घाखाँचीको बैठकले सातौ पटक पुन: एक साता निषेधाज्ञा थप्ने तयारी गरेको हो । भने सार्वजनिक सवारी साधन मापदण्ड बनाएर चल्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइने बताइएको छ ।
अब स्वास्थ्य मापदण्ड पालना गरेर सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै साँझ ६ बजेसम्म खोल्न दिईने बताइएको छ ।
यस अघि बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिएको थियो ।
यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।
जारी निषेधाज्ञाका कारण जिल्ला यतिबेला ठप्प र सुनसान छ । यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । भने लामो समय निषेधाज्ञाका कारण सवारी साधन ग्यारेजमै थन्किएका छन् । निषेधाज्ञाका कारण सबैको रोजीरोटी र रोजगारी संकटमा पर्दै गएकाले गर्दा व्यवसायी तथा मजदुरहरू समस्यामा परेका छन् ।