ठूलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ६ ठूलापोखराको चौवाटार सिंचाइ आयोजनाबाट किसानहरू खुशीले हर्षित भएका छन् ।
छत्रदेव गाउँपालिकाको अन्नको भण्डारको रुपमा परिचित ठूलापोखराको चौवा र आसपासमा रहेको खेतियोग्य जमिनलाई लक्षित गरेर करिब २० वर्ष अगाडि वि.सं. २०५७ /५८ साल तिरैबाट मिलमिले भन्ने स्थानमा ड्याम बाँध्ने र त्यो पानी लाई खासगरि जरेखोला, चौवा, सेरीखोला सम्मको खेतियोग्य भुमिमा सिंचाई गर्ने आशाका साथ यो आयोजना निर्माणको थालनी गरिएको थियो तर बिडम्बना त्यतिबेला उक्त आयोजनाले प्रभावकारी रुप लिन सकेन र ठूलो मात्राको लगानी गर्दा पनि प्रतिफल प्राप्त हुन सकेको थिएन ।
त्यही सन्दर्भलाई लक्षित गरि छत्रदेव गाउँपालिकाको स्थानिय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको पहलमा पुन उक्त सिंचाई आयोजनालाई जतिसक्दो छिट्टो सम्पन्न गराउने र कृषी क्षेत्रको विकासको लागी खासगरि चौवा क्षेत्रलाई मुख्य केन्द्रको रूपमा विकास गर्न सकिन्छ भन्ने सोचका साथ मिलमिले भन्ने स्थानबाट करिब ८ कि.मि. लामो पक्कि कुलोमा पानी ल्याइ सिंचाई गर्न सकिन्छ भन्ने सोचका साथ माथिल्लो निकायको समन्वयमा चौवाटार सिंचाई आयोजना निर्माणको काम पुन प्रारम्भ भएको छ ।
हालसम्म यस योजनाको निर्माण कार्य करिब करिब ८५ प्रतिशत भन्दा माथी सम्पन्न भएको र अबको केही महिनामा यस योजनाको सम्पुर्ण निर्माण कार्य पुरा भइ सञ्चालनमा आउने कुराको जानाकारी छत्रदेव गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री कमल पौडेलले जानकारि दिनुभयो । पौडेलका अनुसार यस योजनाबाट खासगरि जरेखोला, चौवा र सेरीखोला आसपासको करिब १०० हेक्टर जमिन सिंचित गर्ने लक्ष्य रहेको छ ।
विगतमा कृषकहरुबाट समेत चर्को रकम असुली सिंचाई आयोजनाको काम सुरु गरिएकोमा उक्त आयोजना बिचमै अलपत्र हुँदा कृषकहरु मारमा परेको पिडाले गर्दा पछिल्लो पटक समेत यसको निर्माण कार्य अगाडी बढाउने सन्दर्भमा पहल गर्दा आम उपभोक्ताको विश्वास जगाउने कुरामा अत्यन्तै कष्ट भोगेको तितो अनुभव वडा अध्यक्षको रहको छ तथापि सबै सरोकारवालाहरुको पहलमा यो योजनाले अपत्यारिलो ढंगले गति लियो जसको प्रतिफल आजको मितिमा यस वडाको हात्तिसारा सम्म कुलोको पानी झरिसकेको छ र असारे रोपाइँको लागी ब्याड बनाउने देखी लिएर रोपाइँ सम्मको लागी आम कृषकले सिंचाईको लाभ लिइसकेको कुरा यस आयोजना उपभोक्ता समितिका अध्यक्ष श्री धनिश्वर पाण्डेले बताउनु भएको छ ।
पछिल्लो पटक करिब ७ करोड बराबरको लगानीमा सम्पन्न हुन लागेको यस आयोजना निर्माणका लागी उपभोक्ताहरुबाट समेत निकै सक्रियताका साथ सहयोग गर्ने कार्य अगाडी बढेको छ जसका कारण वर्षातको समयमा विभिन्न ठाउँमा पहिरो लगायतका कार्यबाट भएको अवरोध पन्छाउन सबै जागरुक भएर लागेका छन् ।
‘पुरानो पुस्ताको सल्लाह सुझाव र नयाँ पुस्ताका युवा पिडिहरुको गतिशिलताका कारण यस योजना अब सिंगो वडाको गौरवको आयोजना बन्दै छ र कृषी क्षेत्रका लागी चौवालाई पकेटका रुपमा विकास गर्ने लक्ष्य साकार बन्दै छ’ वडा अध्यक्ष पौडेलले भन्नुभयो ।
यस योजनाको कार्यान्वयन गर्ने डिभिजन सिंचाई कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनियर विष्णु भण्डारीका अनुसार अब यस चौवाटार सिंचाई आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको र आम कृषकहरुको वर्षौं देखी जमिन सिंचित गर्ने सपना पुरा हुन लागेको हो ।