विद्यादेवी भण्डारीलाई राष्ट्रपति पदबाट राजीनामा प्रचण्डको माग


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाव दिनुभएको छ । एक टेलिभिजिन कार्यक्रमलाई अन्तर्वार्ता दिने क्रममा अध्यक्ष दाहालले ‘राष्ट्रपतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने’ बताउनुभएको हो ।
सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका अवैधानिक कामहरुलाई रोकिदिएको उल्लेख गर्दै ओली पदच्युत भइसकेको अवस्थामा राष्ट्रपति भण्डारीले पनि पद छोड्नुपर्ने बताउनुभयो ।
राष्ट्रपतिलाई महाअभियोग लगाउने चर्चाबारे सोधिएको प्रश्नमा दाहालले अहिले महाअभियोगबारे पाँच दलीय गठबन्धनले त्यसबारेमा कुनै निर्णय नगरेको वा नसोचेको बताउनुभयो ।
सोमबार सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन बदर गर्नुका साथै १४९ जना सांसदको समर्थनप्राप्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । सोही आदेश बमोजिम हिजो देउवा प्रधानमन्त्रीमा नियुक्तसमेत भइसक्नुभएको छ । युगदर्शनमा समाचार छ ।