काठमाडौँ– सार्वजनिक यातायातको भाडा उल्लेख्य मात्रामा वृद्धि भएको छ। केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै सर्वसाधरणलाई मर्का पर्ने गरी भाडा बढाएको हो।
पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवस्था विभागको सिफारिसअनुसार सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो।
विभागको सिफारिसलाई असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाएका हुन्।
मंगलबारदेखि लागू हुने गरी यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको हो। त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ। देशसन्चारमा समाचार छ ।